इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति खेलमा साविक विजेता लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ। भिल्ला पार्क स्टेडियममा भएको खेलमा घरेलु टोलीले लिभरपुलमाथि ७-२ को सानदार जित निकालेको हो।
एस्टोन भिल्लाको जितमा ओल्ली वाटकिन्सले ह्याट्रिक पुरा गर्दा ज्याक ग्रेअलिसले २ गोल तथा जोन म्याकगिन, रोस बार्कलेले समान १/१ गोल गरे। उता लिभरपुलका लागि मोहम्मद सलाहले २ गोल फर्काए।
खेलको चौथो मिनेटमै वाटकिन्सको गोलमा अग्रता बनाएको भिल्लका लागि दोस्रो गोल पनि उनैले २२ औं मिनेटमा गरे। उता लिभरपुलका लागि ३३ औं मिनेटमा सलाहले गोल गर्दै खेलमा फर्कन चाहे पनि घरेलु टोलीले गोल थपि नै रह्यो। खेलको ३५ औं मिनेटमा म्याकगिनले गोल थप्दा ३९ औं मिनेटमा वाटकिन्सले ह्याट्रिक पुरा गरे। पहिलो हाफमा भिल्ला ४-१ ले अघि रह्यो।
दोस्रो हाफमा बार्कलेले ५५ औं मिनेटमा एस्टोन भिल्लाका लागि गोल गर्दा ६० औं मिनेटमा लिभरपुलका लागि सलाहले गोल गरे। त्यस्तै ६६ र ७५ औं मिनेटमा ग्रेअलिसले गोल गर्दा घरेलु टोलीले ७-२ को सानदार जित निकाल्यो।
यो सँगै एस्टोन भिल्लाले सन १९६२/६३ पछि पहिलो पटक लिगका सुरुवाती तीन खेल जितेको हो।
