इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्स्परसँग लज्जास्पद हार ब्यहोरेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले टोटेनहमसँग ६-१ को लज्जास्पद हार ब्यहोरेको हो।
खेलमा अग्रता भने युनाइटेडले बनाएको थियो। खेलको दोस्रो मिनेटमै युनाइटेडका ब्रुनो फर्नान्डेन्डेजले पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता बनाए। तर खेलको चौथो मिनेटमा नै टानगुए एन्डोम्बेलले गोल गर्दै खेल बराबरी ल्याए। त्यसपछि ७ र ३७ औं मिनेटमा सन् ह्युङ मिन र ३० औं मिनेटमा ह्यारी केनले गोल गर्दा पहिलो हाफमा टोटेनहम ४-१ ले अघि रह्यो। खेलको २८ औं मिनेटमा एन्थोनी मार्सियल रातो कार्ड खाँदै बाहिरिँदा युनाइटेड १० खेलाडीमा सीमित भएको थियो।
दोस्रो हाफमा सर्ज औरियरले टोटेनहमका लागि गोल थपे। त्यस्तै ७९ मिनेटमा पेनाल्टीमार्फत केनले गोल गर्दा टोटेनहमले युनाइटेडलाई उसैको घरेलु मैदानमा ६-१ गोल अन्तरले हराएको हो।
जितसँगै टोटेनहम अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ भने युनाइटेड १६ औं स्थानमा छ।
