PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'फेक पोस्ट'ले प्रहरीलाई अल्मल्याउन सफल रोकायको रणनीति अन्तत फेल, भन्छन् : प्रहरीले मलाई विन लादेन शैलीमा समात्यो



सविन ढकाल

'फेक पोस्ट'ले प्रहरीलाई अल्मल्याउन सफल रोकायको रणनीति अन्तत फेल, भन्छन् : प्रहरीले मलाई विन लादेन शैलीमा समात्यो

काठमाडौं : 'सुरक्षितसँग पुगियो पोखराबाट काठमाडौं। एयरपोर्ट रिसिभ प्रिय दाइ रमन बुढा।'

असोज ११ गते दिउँसो ५ बजेर ४४ मिनेटमा पसल रोकायले आफ्नो फेसबुकमा स्टाटष्ट पोष्ट गरे। विमानस्थलबाट गाडीमा केही साथीसहित सडकमा दौडिएको भिडियो पनि त्यही पोस्टमा अपलोड गरे। ठीक त्यतिखेर प्रहरीले रोकायको फेसबुकदेखि फोन समेत ट्रेसिङ गरिरहेको थियो। जब उनको पोष्ट प्रहरीले देख्यो अनुसन्धानमा खटिएका प्रहरी नै अचम्ममा परे। किनकि प्रहरीलाई सुचना थियो - पसल रोकाया पूर्वी नेपालको सीमापारी दार्जेलिङमा छन्।

नाम : पसल रोकाया

ठेगना : जुम्ला, कनका सुन्दरी गाउँपालिका वडा ७

उमेर : २६ वर्ष

सीमावर्ती क्षेत्र नजिक भारततिर देखिएका अभियुक्त एक्कासी कसरी काठमाडौं आइपुगे? प्रहरी नै अलमलमा पर्‍यो। उनलाई पक्राउ गर्न इलामसम्म पुग्ने योजना बनाउँदै गरेको प्रहरी उनको फेसबुक पोस्टबाट चकित पर्नु स्वभाविक पनि थियो। अभियुक्त नै काठमाडौं आएका छन् भने किन त्यहाँसम्म पुग्ने? प्रहरीको अन्य अनुसन्धानले उनी दार्जेलिङको एक गाउँमा भएको जानकारी दिइरहेको थियो। त्यही सूचनाका कारण प्रहरीको अपरेसन केही समय धकेलियो।

+++

आजभन्दा ५ दिनअघि उनी फेसबुक लाइभमा आएका थिए। 'शुभ विहानी। सीटीइभीटी सानोथिमि भक्तपुर अगाडिको बाटो हेर्दा रहर लागेर आउँछ' भन्दै उनले स्टाटस सहित फेसबुक लाभइ गरेका थिए। ३ मिनेट २५ सेकेन्ड सम्म लाइभ चल्यो उनको भिडियो। दृष्यमा सानो थिमिको सडक देखाइएको छ। तर, उनी आफैँ भने भिडियोमा देखिएका छैनन्। ४ हजार मानिसले भिडियो हेरेका छन्।

कोभर्ट अप्रेसमा खटिएका प्रहरीका लागि यो भिडियो पनि चासोको विषय थियो। उनी भक्तपुरमा देखिए। झनै प्रहरी अलमलमा पर्‍यो। प्रहरीको सुत्र र प्राविधक पक्षको दावी थियो - उनी इलाम नजिकै दार्जेलिङतिरको गाउँमा छन्।

तर, यता उनकै फेसबुकको भिडियोले उनी काठमाडौं उपत्यकामा भएको देखाइरहेको थियो।

प्रहरीको टोली निष्कर्षमा पुग्यो, अनि लाग्यो इलामतिर। इलामसँग जोडिएको दार्जेलिङको एउटा गाँउमा नेपाल टेलिकमको फोन चल्छ। त्यही क्षेत्र ताकेर प्रहरीले रोकायको खोजी गर्‍यो। नभन्दै उनी त्यहीँ फेला परे। प्रहरीले रोकायलाई समात्न सफल भयो। त्यसपछिमात्र खुल्यो रोकायको फेसबुक राज।

उनले आफूलाई प्रहरीले पक्राउ गर्न खोजिरहेको जानकारी पाएपछि प्रहरीलाई 'गुमराह'मा राख्न फेसबुकमा पुरानो भिडियो र फेक आइडी बनाएर लाइभ समेत गरेको खुल्यो। उनले त्यहाँ भीपीएन लोकेसन समेत आउट गराएर सुरक्षित बसेका थिए। तर, नेपाल प्रहरीको अनुसन्धानसामु उनको प्रविधिले पनि चित खायो। उनी समातिए। 'नेपाल प्रहरीले विन लादेन शैलीमा नै सामात्यो,' अभियुक्त रोकायले भने।

रोकाया तिनै व्यक्ति हुन् जसलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ट्रेसिङ गर्दै पूर्वी नेपालको भारती सीमामा पुगेर पक्राउ गर्न सफल भएको थियो। आइतवार उनलाई परिसरको टोलीले काठमाडौं ल्याइसकेको छ। रोकाय साइबर अपराधदेखि ठगीसम्मको उजुरीमा प्रहरीको सर्वाधिक खोजीमा रहेका अभियुक्त हुन्। उनी पक्राउसँगै धेरै ठगीबाट जोगिने सम्भावना बढेको छ।

+++

२६ वर्षीय पसल रोकायले भारतको बैंगलौरबाट आइटीमा माष्टर्स गर्दै गरेको बताउँदै आएका छन्। उनमा आइटीको राम्रो ज्ञान भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। आइटीको ज्ञानको दुरुपयोग गरेर उनले विभिन्न मानिसको फेक फेसबुक आइडी बनाएर चरित्र हत्यादेखि बार्गेनिङसम्मका अपराध गरेको उजुरी प्रहरीकहाँ परेको छ।

'मैले आइटीमा ब्याचलर पास गरेर माष्टर जोइन गरेको थिएँ,' अभियुक्त रोकायले सुनाए।

उनको नाममा खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा नामको कम्पनी दर्ता गरेर ठेक्कापट्टा समेत गर्ने गरेको देखिएको छ।

'ऊ प्रविधिलाई राम्रोसँग बुझेको मान्छे हो। त्यसैले विभिन्न मानिसको फेक फेसबुक आइडीदेखि फेसबुक च्याटसम्म बनाएर अपराध गर्ने गरेको उजुरी छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

रोकाय २०७४ असोज २ गते ठगी मुद्धामा जिल्ला अदालत काठमाडौंमा ५० हजार धरौटी बुझाएर छुटेका व्यक्ति हुन्। त्यसपछि पनि उनीबिरुद्ध धेरै उजुरी परेका छन्। २०७५ पुस ४ गते १ लाख रुपैयाँ धरौटीमा जिल्ला अदालत काठमाडौंबाट छुटेका थिए। त्यसपछि उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाका उजुरी परेका छन्। उनीविरुद्ध साइवर अपराधमा बढी उजुरी आएको परिसरका एसएसपी ज्ञवालीले बताए।

'साइबर अपराध धेरै देखिन्छ। मानिसको चरित्र हत्या गर्ने र पैसा माग्ने गरेको पीडितहरुले जानकारी दिएका छन्,' एसएसपी ज्ञवालीले भने।

सरकारी कर्मचारीदखि मन्त्री पत्नीसम्म पीडित

प्रहरीले नियन्त्रणमा लिएका रोकायले सरकारी कर्मचारीदेखी मन्त्रीका श्रीमतीलाई चरित्र हत्यादेखि ठगी गरेको खुलेको छ। त्यस्तै नर्सिङ पढ्ने युवतीलाई परीक्षा पास गराइदिने भन्दै रकम लिने गरेको समेत देखिन्छ। उनीविरुद्ध सुर्खेतमा ठगी अभियोगमा उजुरी समेत दर्ता भइसकेको छ।

नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा पास गराइदिने भन्दै काउन्सिल सदस्य जीता बरालले तीन लाख रुपैयाँ मागेको फेसबुक कुराकानी सार्वजनिक भएपछि विवादमा तानिएकी थिइन्। यसै प्रकरणमा पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती तथा काउन्सिलका रजिस्ट्रार विन्दा घिमिरेको नामसमेत जोडिएको थियो। तर, अहिले ती घटना पसलले नै नक्कली फेसबुक आइडी बनाएर गरेको देखिएको छ।

'यो घटनामा पनि उसैको नाम जोडिएको छ। थप अनुसन्धान भइरहेको छ,' एसएसपी ज्ञवालीले भने।

उनले कर्णाली आवाजडटकम र कर्णाली एचडी युट्युव च्यानल मार्फत् पनि चरित्र हत्या गर्ने गरेको प्रहरीको दावी गरेको छ। उनले चरित्र हत्या गर्ने फेसबुकमा नक्कली आइडी खोलेर दुई जनाको नक्कली च्याट समेत गरेको तथा कसैको अश्लिल फोटो समेत हाल्ने धम्की दिने गरेको खुलेको हो।

पसलले आफ्नै नाममा नर्सिङ कलेजसमेत खोल्ने तयारी रहेको बताएका छन्। उनले आफ्नो खातामा २ करोड रुपैयाँ समेत भएको दावी गरेका छन्।

'उसले प्रारम्भिक रुपमा भनेको कुरा हो। थप अनुसन्धानबाट खुल्ने छ,' एसएसपी ज्ञवालीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell