PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ स्टिकर राखेर बिक्री गर्ने कम्पनीका ७ जना पक्राउ



पहिलोपोस्ट

म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ स्टिकर राखेर बिक्री गर्ने कम्पनीका ७ जना पक्राउ
फाइल फोटो।

काठमाडौं : म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ स्टिकर राखेर बिक्री गर्ने पसल संचालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कलंकीमा सञ्चालित एएसटी कम्पनीमा म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ म्याद राखेर बिक्री गरेको पाइएपछि कम्पनी सिल गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका १४ कलंकीमा रहेको सो कम्पनीले विभिन्न चकलेट, तेल, केमिकल पाउडर लगायतका खाद्यान्नमा स्टिकर मेटाई मेसिनद्धारा नयाँ बनाएर बजारमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले सो कम्पनीमा आइतवार छापा मारेको थियो।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्य समस्तिपुर जिल्ला दलसिंह सराही ग्राम घर भई हाल काठमाडौं-१३ बाफल बस्ने वर्ष ५२ का अनिल कुमार बंका, दोलखाको मेलुङ गाउँपालिका-६ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१६ बस्ने वर्ष २६ की रस्मिता श्रेष्ठ (मार्केटिङ), कञ्चनपुरको शुक्लाफाँट नगरपालिका-५ घर भई हाल काठमाडौं-३१ बानेश्वर बस्ने २५ वर्षीय आन्नद प्रसाद अवस्थि (लेखापाल) रहेका छन्।

त्यस्तै, ओखलढुङ्गाको सिद्दिचरण नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौं-१६ माछापोखरी बस्ने वर्ष ४४ का बिनोद ओझा (स्टोर किपर), खोटाङको दिक्तेल नगरपालिका-२ घर भई हाल कलंकी बस्ने बर्ष २१ का रामकुमार खत्री (कामदार), बाराको निजगढ नगरपालिका-३ सिंगोल घर भई हाल काठमाडौं २२ बस्ने सोनु तामाङ (कामदार) र सर्लाहीको लक्ष्मीपुर नगरपालिका-३ घर भई हाल कलंकी बस्ने बर्ष ३१ का मोहन महतोलाई समेत प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले ना ३ च १८०५ नम्बरको महेन्द्र बोलेरो गाडी र ना ४ च ८३८६ नम्बरको डि आई टाटा गाडी समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुलाई सोमवार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell