PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

किन बनिरहेको छैन चाबहिलको सडक?



दिनेश खड्का

किन बनिरहेको छैन चाबहिलको सडक?

काठमाडौं : १५ दिनमा सक्ने भन्दै गत चैत अन्तिम साताबाट निर्माण थालिएको गौशाला-चाबहिल-चुच्चेपाटी सडक अझै अलपत्र छ। ६ महिना थालिएको कामले यो क्षेत्रमा किन गति लिन सकेन भनेर सोध्यो भने आयोजनाका प्राविधिक पन्छिन्छन्।

काम थाल्दा नै सडक आयोजनाले उक्त क्षेत्रमा खानेपानीका धेरै पाइपलाइन रहेको र ती ठाउँ ठाउँमा फुटिरहने भएकाले सडक मर्मत गर्दा पनि नटिक्ने समस्या रहेको जनाएको थियो। स्रोतका अनुसार वारिपारि घरहरूमा लगिएका करिब ६ सयवटा धाराका पाइपलाइन उक्त क्षेत्रको सडकमा छ। अधिकांश धारा अवैध छन्। 

सडक बनाउन खन्नुपर्छ। खन्दा पाइपलाइन भत्किएर धारामा पानी आउन बन्द हुन्छन्। स्थानीयले आफ्नो धारा जोगाउन दबाब दिँदा आयोजना सडक बनाउन ढिलाइ गर्दै तमासे बनेको हो। सडक निर्माण गर्ने भन्दै उक्त क्षेत्रको सडक पहिलो चरणमा ६ महिना पहिले नै भत्काइएको थियो। त्यसपछि आधा अधुरो निर्माण गरेर काम पूरा हुनै पाएको छैन। भत्काएर छाडिएको सडक घाम लाग्दा धुलाम्य र पानी पर्दा आहाल हुने गरेको छ।  

ग्राभेल लेवलको बनाएर छाडिएको भए पनि सवारी साधनको उच्च चाप र बर्खा सुरु भएका कारण सडक बिग्रिएको छ। ६/७ वर्षदेखि उक्त सडकको दुरावस्था सधैं उस्तै छ। डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले सडक अलपत्र नभइ काम जारी रहेको दाबी गर्छन्। 'नबनेको होइन। कालोपत्रे गर्नुलाई मात्रै सडक बनेको भनेर बुझिदिनु भएन। २०/ २५ जनाले काम गरिरहेका छन्। ढलको काम भइरहेको छ,' उनले भने, 'मेटेरियल कलेक्सन भइरहेको छ। दसैंअघि नै एउटा स्तरको बाटो दिन्छौं।'

अहिले उक्त खण्डमा खानेपानीको नयाँ बल्क पाइप हालिएको उनले बताए। उक्त पाइपलाइनबाट घर घरमा लैजाने डिस्ट्रिब्युसन (वितरण) प्रणाली जडान गर्न बाँकी नै छ। करिब ६ सय वटा धारा जडान गर्नु पर्नेछ। 'घरघरका खानेपानीका लाइन कटाइदिन भएन। ती पाइपहरु नहालिए फेरि भोलि सडक खन्नुपर्ने अवस्था आउछ,' उनले भने, 'स्थानीयले केयुकेएलमा गएर धारा जडान गराउनुपर्छ। धेरै धारा दर्ता छैनन्। एउटै पाइपबाट दुई वटा धारा जडान गरिएका छन्। गैरकानुनी धारा भएकै कारण स्थानीयलाई अप्ठ्यारो छ।' ' 

अहिले फुटेका ढलहरु मर्मतको काम जारी रहेको नेपालीको दाबी छ। 'ढिला भएको छैन। लकडाउनमा निर्माण सामाग्री पाइएन। बर्खामा काम गर्न मिल्दैन,' उनले भने, ' दसैंतिहारको बीचमा एक चरणको कालोपत्रे गर्छौ।'

डिभिजनका अनुसार दुई पटक ठेक्का निकाल्दा पनि कुनै कम्पनीले चासो नदेखाएपछि तेस्रो पटक निकालिएको ठेक्कामा कालिका-बेदाङसी जेभीले टेण्डर हाल्यो। सोही कम्पनीलाइ १८ करोड रुपैयाँमा निर्माण जिम्मा दिइएको थियो। साइट क्लियर नभइ ठेक्का लगाइएका कारण लामो समय काम हुन सकेन।

चैत ११ देखि लकडाउन भयो। अत्यावश्यक बाहेका सबै सेवा रोकिएको थियो। सोही अवधिमा सजिलो हुने भन्दै काम गर्ने प्रस्ताव निर्माण कम्पनीले गर्यो। साइट क्लियर गरिदिए १५ दिनमै सक्ने कम्पनीले प्रतिबद्धता जनाएको थियो। अरु वेला अत्यन्त व्यस्त हुने सडक लकडाउन थोरै हिड्दा काम गर्न सजिलो हुने कम्पनी निष्कर्ष निकालेको थियो।

त्यसपछि आयोजनाले जिल्ला प्रशासन कार्यालयबाट काम सुरु गर्न अनुमति लियो। ठेकेदार कम्पनीले अनुमति पाएपछि  कामदार र इक्विपमेन्ट साइटमा ल्यायो। तर खानेपानी तथा ढल निकास विभागले आफ्नो भागमा पर्ने मर्मतको काम नगरिदिँदा साइटमा काम हुन सकेन। निर्माण सामाग्री ल्याउन पनि आयोजनालाइ समस्या भयो। चाबहिलबाट गोपीकृष्ण हलतिर अगाडिको चोकसम्म भने कालोपत्रे भयो। यो खण्डमा समस्या नरहेका कारण कालोपत्रे गरिएको थियो।

त्यस्तै समस्या हल गरेर  जयबागेश्वरीदेखि मित्रपार्कमा एक तहको कालोपत्रे (डीबीएम) भयो। त्यस बाहेक काम हुन सकेन।

विद्युत प्राधिकरणले तार भूमिगत गर्न सुरु गरेको थियो। आयोजनासँग अनुमति लिएर प्राधिकरणले काम अघि बढायो। एक सातामा भूमिगत गरिसक्ने सहमति भए पनि झण्डै दुइ महिना लगाइदियो।  त्यस्तै तार भूमिगत गर्दा सडक एक ठाउँमा खनेर ५० देखि सय मिटर पर अर्को ठाउँमा तार निकाल्ने प्रविधिबाट काम गर्न सम्झौता भएको थियो। तर सडक निर्माण हुँदै गरेको र सजिलो हुने भन्दै सेन्ट्रल लाइनको नाली खने जसरी खनिएका कारण पेभमेन्ट चिसो भएर काम अघि बढेन।

त्यसपछि वर्षा सुरु भयो। प्राविधिकका अनुसार वर्षामा कालोपत्रे गर्न मिल्दैन।

अहिले जयबागेश्वरीदेखि मित्रपार्कसम्म गरिएको पीच पनि उप्किसकेको छ। पेभमेन्ट जोगाउन एक तहको मात्रै कालोपत्रे गरिएका कारण उप्किएको नेपालीले बताए। अब त्यसमाथि अर्को तहको कालोपत्रे थपिनेछ। सिधै कालोपत्रे थप्न मिल्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell