PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मन्त्रीज्यू यो संसद हो, कुनै युद्ध मोर्चा होइन !



विधुर ढकाल

मन्त्रीज्यू यो संसद हो, कुनै युद्ध मोर्चा होइन !

सोमवार प्रदेश ५ को प्रदेशसभाको बैठकमा एउटा 'संसदीय अभ्यास' देखियो। नेकपा नेतृत्वको प्रदेश सरकारले संसदमा शुक्रवार दर्ता गराएको प्रदेशको नाम र राजधानी निर्धारण सम्बन्धि कार्यविधि माथिको छलफलको पूर्व निर्धारित कार्यसूची थियो सोमवार।

सोमवार निर्धारित समय भन्दा ढिलो गरी सुरु भएको प्रदेशसभाको बैठक कांग्रेसका सांसदको विरोध र नाराबाजी पछि २० मिनेटका लागि स्थगित भयो। स्थगित प्रदेशसभाको बैठक झण्डै एक घण्टापछि सुरु भयो। स्थगित भएपछि सुरु भएको बैठक पुन: सुरु हुँदा केही सल्लाह र सहमति होला की भन्ने अपेक्षा थियो- तर भई दियो उल्टो।

सत्तापक्ष र प्रतिपक्षले त्यो स्थगित समयलाई शक्ति संचयको अवसर र 'युद्धको तयारी'मा लगाए। बैठक सुरु हुना साथ प्रदेशसभा बैठक रणभूमिमा परिणत भयो।

स्थगित बैठक पुन: सुरु हुनासाथ सभामुख पूर्ण घर्तीले बैठकको कारवाही प्रारम्भ हुन्छ मात्र के भनेका थिए- प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु नारावाजी गर्दै रोस्टम घेर्न निस्किए।

सभामुख घर्तीले दुई जना सदस्यले जरुरी महत्त्वको सूचना दिएकोले बोल्न समय दिने बताए। यति भन्दै गर्दा, 'यहाँहरुको विरोध गर्न पाउने अधिकारको सम्मान गर्दै संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने र बैठकको कारवाही अगाडि बढाउने' घोषणा गरे।

सार्वजनिक महत्त्वको ध्यानाकर्ष गराउने सूचना दिएका विपक्षी सदस्यले नबोल्ने बताउँदै नारावाजी गर्न सुरु गर्दै गर्दा सभामुख घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई कार्यविधिलाई छलफलका लागि पेस गर्न समय दिए।

मन्त्री केसीलाई रोस्टममा पुग्नबाट विपक्षी सदस्यहरुले प्रयास गरे। तर मर्यादापालले विपक्षी सांसदलाई घेरे मन्त्री आफैले पनि बलजफ्ती धकेल्दै रोस्टम उक्लिएर प्रस्ताव पेस गरे।

त्यसपछि नेपाली कांग्रेसका ससदस्यहरु सांसद बसिरुद्दिन खाँले कुर्सी उचालेर पछार्न थाले। अष्टभुजा पाठक र बैजनाथ कलवार पनि उनकै पछि लागेर कुर्सी तोड्न लागे। महिला सदस्यहरु पनि टेवलका माईक थुतेर फाल्दै थिए।

नाराबाजी चलिरह्यो सभाहल भद्रगोल भयो। सभामुख घर्ती मौन रहे। फेरी कारवाही अगाडि बढाए। न त विरोधलाई मथ्थर पार्न लागे न त तोडफोडबारे बोले। युद्ध मैदानका बीच 'नयाँ युद्धको कासन' दिए.

छलफलमा भाग लिन सांसदहरुलाई समय उपलब्ध गराए। सभामुखले पहिले समय उपलब्ध गराएका सभासद थिए सत्तारुढ दल नेकपाकै सदस्य भोजप्रसाद श्रेष्ठ। श्रेष्ठले हल्लाकाबीच  कुरा राख्नुको ओचित्य नभएको भन्दै कुरा राख्ने वातावरण बनाउन सभामुखलाई आग्रह गरिरहे। सभामुखले समय सकिएको भन्दै अर्का सांसदलाई बोल्ने समय दिए। श्रेष्ठले सभामुखलाई लोकतान्त्रिक अधिकारलाई अंकुस लगाउने कसैलाई अधिकार नभएको भन्दै समयको पावन्धी नलगाउन भने।

श्रेष्ठ हात उठाएरै विरोध गरिरहे। सभामुखले संशोधनका लागि १८ घन्टे सूचना दिए र छलफलमा उठेका प्रश्नहरुको जवाफका लागि आन्तरिक मामिला मन्त्रीलाई समय दिए।

कार्यविधिमाथि उठेका प्रश्नको जवाफ दिन पुगेका मन्त्री केसीले विपक्षीको विरोधको आवाजलाई दबाउँदै इतिहासमा धुलोपिठो हुनुको कारण यही हो भन्दै चेतावनी दिए।

कानुनमन्त्री केसी रोष्टममा आइपुग्दासम्म अवस्था मर्यादापालकहरु सभामुखको वरी परी कुसन लिएर उभिएका थिए। त्यतिकैमा विपक्षीले टेवल ठोक्न थाले। मर्यादापालक मन्त्रीको अगाडि उभिन आइपुगे। मन्त्री आक्रोशित हुँदै मर्यादापालकलाई कोट्याएर भने- 'घिसारेर निकालिहाल!' यति भन्दै गर्दा मन्त्रीको भाषामा न त मर्यादापालक प्रतिको सम्मान देखिन्थ्यो न त प्रतिपक्षीको विरोध प्रति सम्मान। लाग्थ्यो उनी कुनै युद्ध मैदानमा युद्ध लड्दै छन् र कमाण्डरले जस्तै सिपाहीलाई विपक्षीमाथि आक्रमण गर्न आदेश दिँदै छन्।

'तपाईँहरुले दादागिरी देखाउनु भएको छ। तपाईँले द्वन्द्व चाहेको हो की इतिहास निर्माण?,' भन्दै मन्त्रीले नै 'दादागिरी' देखाए। सदस्यको प्रश्नको जवाफ दिन रोस्टममा उक्लिएका मन्त्रीले जवाफ भन्दा चेतावनी बढी दिए। नेपाली कांग्रेस पार्टी प्रति खेद प्रस्ताब पो पेश गरे।   

युद्कै धङधङी

कुलप्रसाद केसी 'सोनाम'का नामले परिचित नेता हुन्। जनयुद्धमा युद्ध मोर्चामा सहभागि उनले ५२ सालमा जनयुद्ध थालनीको समयमा होलेरी चौकी आक्रमणको बेला वर्षमान पुन राजनीतिक कमिसार थिए। त्यही मोर्चामा तत्कालिन माओवादी केन्द्रीय सदस्य कुलप्रसाद केसी सोनाम पनि सहभागि थिए। उनीसहित उनकी पत्नी तारा घर्ती मगर तथा पुनपत्नी ओनसरी घर्तिमगर दुई जोडी नै पहिलो चौकी आक्रमणमा सहभागी थिए।

बालकल्याण माविमा पढेका उनीहरु विप्लवसँगै पुनसँग सँगै होस्टेलमा बसेका थिए। सोही विद्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र त्यो भन्दा अलि अगाडि माओवादीका नेता झक्कु सुबेदीलगायतले पढेका थिए। उनीहरुभन्दा पछिका विद्यार्थी बने निवर्तमान सभामुख ओनसरी घर्तीमगर, रोल्पा २ का प्रदेशसभा सदस्य दिपेन्द्र पुनलगायत।

यी सबैका गुरु थिए कृष्णबहादुर महरा। तत्कालिन पार्टी विभाजनका बेला विप्लवसँग नजिक रहेका सोनाम क्रान्तिकारी माओवादीमा विप्लव र बादलको सम्बन्ध सेतुका रुपमा काम गर्थे। तत्कालीन माओवादीमा देखिएको दुई लाइन संघर्षमा बादल धेरैपछि मात्र खुलेका हुन्। तत्कालिन दुई लाईन संघर्ष हुँदा बादललाई वैद्य नजिक ल्याउन भूमिका खेलेका नेता हुन्। पछि उनी प्रचण्डकोमा बादलसँगै फर्किए।

संसदमा नेपाली कांग्रेसको व्यवहार प्रति खेद प्रकट गर्ने मन्त्री केसीले आफ्नो भनाइ प्रति के भन्छन् आफैँ? मन्त्री ज्यू यो संसद हो युद्ध भूमि होइन्। तपाईँका अगाडि उभिएका मर्यादापालक हुन्। तपाईका सिपाही होइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell