इण्डियन प्रिमियर लिग (आईपीएल) का पछिल्ला खेलहरुलाई हेर्दा मुम्बइ इण्डियन्स र राजस्थान रोयल्स दुई फरक दिशामा गइरहेको देखिन्छ। एकातर्फ मुम्बइ लगातार तेस्रो जितको खोजीमा छ भने अर्कातर्फ राजस्थान लगातार तेस्रो हारलाई टार्ने ध्येयमा छ।
आज मुम्बइ इण्डियन्स र राजस्थान रोयल्स प्रतिस्पर्धामा उत्रँदै छन्। आज बेलुकी पौने ८ मा शेख जायेद स्टेडियममा सुरु हुने खेलमा साविक विजेता समेत रहेको मुम्बइ इण्डियन्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्नेछन्।
सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेको राजस्थानले त्यसयता राम्रो नतिजा ल्याउन सकेको छैन। अर्कोतर्फ पछिल्ला दुई खेलमा मुम्बइको प्रदर्शन राम्रो छ। सुपर ओभरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरसँग पराजय भोगेयता मुम्बइले किंग्स ११ पञ्जाबलाई ४८ र सनराइजर्स हैदरावादलाई ३४ रनले हराएको थियो।
मुम्बइको राम्रो पक्ष भनेको एउटा खेलाडीमाथि पूर्ण निर्भर नहुनु हो। पछिल्ला खेलहरुलाई हेर्दा फरक खेलहरुमा फरकफरक खेलाडीहरुले महत्वपूर्ण योगदान दिएका छन्। कप्तान रोहित शर्मा फर्ममा छन नै किंन्टन डी कक पनि पछिल्ला खेलमा फर्ममा आएका छन्। त्यस्तै किरोन पोलार्ड, इसान किसन, हार्दिक पाण्ड्या, क्रुणाल पाण्ड्या लगायतको खेलाडीको पनि प्रदर्शन राम्रो देखिएको छ। त्यस्तै जेम्स पेटिन्सन, जसप्रित बुमराह लगायतका खेलाडीहरु पनि राम्रो फर्ममा देखिएका छन्।
अर्कोतर्फ राजस्थानमा इङ्ग्ल्याण्डका अलराउन्ड बेन स्टोकको अभाव खड्किएको छ। उनी क्वारेन्टाइनको अवधि पूरा गरेर ११ अक्टोबर पछिबाट मात्र उपलब्ध हुनेछन्। जोस बटलर (तीन म्याचमा ४७ रन), जयदेव उनादकट (चार म्याचमा १ विकेट) लगायतका महत्वपूर्ण खेलाडीहरुको खराब फर्म राजस्थानका लागि टाउको दुखाई बन्ने देखिएको छ। त्यस्तै युवा खेलाडी रियान पराग पनि चलेका छैनन्। यस्तोमा कप्तान स्टिभ स्मिथले उनलाई बाहिर राखेर यशस्वी जयसवाललाई मौका दिन सक्छन्। उनादकट डेथ ओभर र पावरप्लेमा नचल्दा जोफ्रा आर्चर र टम करनलाई दवाब बढ्ने देखिन्छ। यस्तो अवस्था बरुन आरोन वा कार्तिक त्यागीले अवसर पाउने पनि सम्भावना रहन्छ।
राजस्थान रोयल्स र मुम्बइबीच हालसम्म २० खेल भएका छन् जसमा दुवै टिमले समान १०/१० खेल जितेका छन्। यद्यपि, पछिल्ला पाँच खेलहरुमा चार खेलहरु राजस्थानले जितेको छ।
