काठमाडौः डेढ वर्षअघि काठमाडौंमा एक महिलाको हत्या गरी फरार रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ११ बडेगाउँ घर भएका ३५ वर्षीय विनय श्रेष्ठ भनिने सोमबहादुर राईलाई पक्राउ गरेको हो। उनले २०७६ जेठ ५ गते कागेश्वरी मनहरा नगरपालिका ९ गोठाटारस्थित रमेश श्रेष्ठको अस्थायी टहरामा सिन्धुपाल्चोक कर्थली-३ घर भई जोरपाटी नयाँबस्ती बस्ने ३६ वर्षी पम्फा श्रेष्ठलाई बन्धक बनाई हत्या गरी फरार भएका थिए। उनलाई महाशाखाको टोलीले हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीबाट पक्राउ गरेको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए।
प्रहरीको अनुसन्धानमा अभियुक्त राईले पम्फा श्रेष्ठलाई विभिन्न बहाना गरी आफ्नो डेरामा लगि २०७६ वैसाख ३० गतेदेखी जबरजस्ती बन्धक बनाई राखेका थिए। पछि उनको हत्या गरेर फरार भएका थिए। त्यसको पाँच दिनपछि स्थानीयले खबर गरेर हेर्दा महिला मृत अवस्थामा फेला परेकी थिइन्।
हत्या गरेर फरार भएपछि राईले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सोमबहादुर राईको नामबाट नागरिकता समेत झिकेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
