काठमाडौं : बुटवललाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले घोषणा गरेका छन्।
प्रदेशसभामा प्रदेशको राजधानी र नामाकरण सम्बन्धी कार्यविधिमाथि चलिरहेको बैठकका बीच पोखरेलले विशेष समय माग गर्दै यस्तो घोषणा गरेका हुन्।
'प्रदेशमा नेपालकै ठूलो चिडियाखाना बुटवलमा बनाउने प्रक्रिया अगाडि बढाएका छौं,' उनले भने, 'उजिरसिंह रंगशाला बनाउने प्रक्रिया अगाडि बढाएका छौं। नुवाकोटलाई केवलकारले जोड्ने योजना बनिरहेको छ। प्रदेशको स्थायी केन्द्र नयाँ ठाउँमा तोकियो भन्दैमा चिन्ता लिनु पर्दैन। लुम्बिनीका सम्पदा क्षेत्रलाई विकास गर्ने र यस क्षेत्रका हिल स्टेसनको रुपमा विकास गर्ने योजना अगाडि बढाएका छौं। पर्यटकीय राजधानी विकास गर्ने निर्णय गरेका छौं।'
उनले लुम्बिनी क्षेत्रको विकास जति गर्न सक्छौं त्यति नै यस क्षेत्रको विकासले गति लिने बताए।
'नारायणढ बुटवल चार लेनको सडकको काम अगाडि बढेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्गको विकाससँगै बुद्धसँग सम्बन्धित क्षेत्र जोडिने छ,' उनले भने, 'भैरहवा बुटवल करिडोरको दीर्घकालिन परियोजनाको डीपीआरको काम अन्तिम चरणमा पुर्याएका छौं। बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताललाई नेपालकै नमुना अस्पताल बनाउन गुरुयोजना बनाइ डीपीआर तयार हुँदै छ।'
सैनामैना नगरपालिकामा प्रदेशकै ठूलो कृषि बजार क्षेत्र बनाउन अध्ययन अगाडि बढिरहेको भन्दै उनले योजनाका लिस्ट प्रदेशको राजधानी सार्ने सम्बन्धमा गरिएको कुरा मात्र नभई सरकार आएसँगै अगाडि बढेका कामहरु भएको बताए।
उनले स्थायी राजधानी तोक्ने काम राजनीतिक पूर्वाग्रहका आधारमा नभएको बताए।
'तीन वटा पालिका मिलेर बनेको केन्द्र राखिएको छ। जहाँ तीन वटामध्ये दुई वटा पालिकाहरु गडवा र राप्ती गाउँपालिकाको सरकार नेपाली कांग्रेसले चलाएको छ। एउटा मात्र शितगंगा नगरपालिका मात्र नेकपाले चलाएको छ। राजनीतिक पूर्वाग्रह राखेको भनियो। कसरी पूर्वाग्रह भयो यहाँ?' उनले भने।
अहिले राजधानी सार्ने काम नभएको भन्दै राजधानी बनाउने कुरा भएको बताए। उनले देउखुरीले प्रदेशको सभ्यताले जोडेको दाबी गरे। 'कतिपय माननीयहरुले प्रदेशको विशेषतालाई कुन रुपले जोड्छ भन्ने गर्नुहुन्छ। त्यहाँका गाउँहरुको नामहरु हेर्नुस्। लालमटिया सिसैनिया, गबैरियाजस्ता नाम छन्। जुन थारु सभ्यातासँग जोडिएको छ,' उनले भने, 'अलि माथि भालुवाङ, लापेजस्ता क्षेत्र छन् जसले मगर सभ्यतालाई प्रतिनिधित्व गरेको छ।'
