PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नक्सा अनुसार भूमि चीनकै रहेछ, हुम्ला च्याप्टर क्लोज भयो : नाम्खा गाउँपालिका अध्यक्ष



कमलराज भट्ट

नक्सा अनुसार भूमि चीनकै रहेछ, हुम्ला च्याप्टर क्लोज भयो : नाम्खा गाउँपालिका अध्यक्ष

काठमाडौं : हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङ (लामा)ले लिमीको लाप्चा क्षेत्रभित्र ललुङजङमा निर्माण भएका भवन भएको भूमि नक्साअनुसार चीनकै देखिएको बताएका छन्।

'नक्सा अनुसार उनीहरुकै हो। प्रमाणका आधारमा हामीले हेर्‍यौं। नेपालतिर नपर्ने रहेछ,' उनले भने।

सुरुमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएर नेपाली भूमि कब्जा गरेको भन्दै सूचना बाहिर ल्याउने पनि अध्यक्ष लामा नै थिए। गाउँपालिकाको टिम, सहायक सीडीओको टिम र सीडीओको टिममा सिलसिलेवार सीमा निरीक्षणमा जाँदा पनि लामाले चीनले भूमि कब्जा गरेर भनेर बोल्दै आएका थिए। तर, नेकपाका सांसद छक्कबहादुर लामाको टोली सीमा निरीक्षणमा गएर फर्केपछि गाउँपालिका अध्यक्ष लामाले नक्सा र प्रमाणले उक्त भूमि चीनकै देखिएको बताएका हुन्।

करीब दुई साताअघि सीमा निरीक्षणमा गएको नेकपा टोलीका सदस्य यो बीचमा बोलेका थिएनन्। काठमाडौं आएर मंगलवार मन्त्रीहरुलाई भेटेपछि गाउँपालिका अध्यक्ष सम्पर्कमा आएका हुन्। लामाले आफ्नो पार्टीको निरीक्षणको निष्कर्ष भूमि चीनकै भन्ने भएको जानकारी दिए। उक्त निष्कर्षसहित ब्रिफिङ मंगलवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई भेटेर गरिएको लामाले बताए। 'चीनकै हो भन्नेमा मन्त्रीज्यूहरु कन्भिन्स हुनुभयो,' उनले भने।

सन् १९८२ को नक्साअनुसार उक्त भूमि प्रष्ट रुपमा चीनमा पर्ने अध्यक्ष लामाको भनाई छ। 'चीनसँग अब कुनै विवाद छैन। हुम्ला च्याप्टर क्लोज भयो,' उनले भने।

नयाँ पिल्लर भेटिएको भन्ने कांग्रेसको दावी भ्रममात्रै भएको गाउँपालिका अध्यक्ष लामाको दावी छ।

'नयाँ बनाएको भन्ने उहाँहरुको भ्रममात्रै हो। हामी पनि निरीक्षणमा गएका थियौं, केही थिएन। प्रमाणले बोल्ने हो,' उनले भने। नक्साबारे जानकारी नहुँदा अन्यौलताको अवस्था सिर्जना भएको उनको तर्क छ। 'सुरुमा हामीले पनि बुझेनौं। भोगचलन नेपालीले पनि गरिरहेको ठाउँ हो त्यो। अहिले नक्साले सबै क्लियर गर्‍यो। हामीले लिमीवासीलाई पनि नक्सा देखाएर कन्भिन्स गरेका छौं,' उनले भने।

उनले हुम्लामा अब कुनै विवाद नरहेकाले उच्चस्तरीय नापी टोली पनि आवश्यक नपर्ने बताए। हुम्लामा सर्वदलीय बैठकले चीनले बनाएको भवन कहाँ पर्छ निर्क्यौल गर्न नापजाँचका लागि केन्द्रबाट उच्चस्तरीय टोली माग गरेको थियो। काठमाडौंमा हुम्लाकी कांग्रेस सांसद रंगमती शाहीले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेटेर छिटो उच्चस्तरीय टोली पठाउन दबाब दिएकी थिइन्।

'सर्वदलीयले टोली आउनुपर्छ भनेको हो। अब प्रमाणले सबै देखाइसक्यो। नापी टोली आवश्यक छैन,' गाउँपालिका अध्यक्ष लामाले भने।

कांग्रेसको टोली स्थलगत अध्ययनमै

चीनसँग सीमा विवाद देखिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको टोली हाल सीमा निरीक्षणमा छ। कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाका प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा कांग्रेसको टोली विगत एक सातादेखि पिल्लर तथा चिनियाँ भवनको निरीक्षणमा छ। नेकपाको टोलीले निरीक्षण सकेर सरकारलाई ब्रिफिङसमेत गरिसकेका बेला कांग्रेसको टोली भने अध्ययनमै छ।

नेकपाको टोली, संघीय सरकार, चीन र जिल्लाका अधिकारीले उक्त भूमि चीनकै भएको बताइरहेका बेला कांग्रेसलाई भने कसैमाथि विश्वास छैन। हुम्ला मुद्दामा सरकार चीनसँग डराएको कांग्रेसको आशंका छ। त्यहीँ भएर आफैं स्थलगत निरीक्षणमा गएको हो। प्रारम्भिक चरणमा कांग्रेसको टोलीले लाप्चाको १२ नम्बर पिल्लर नयाँ बनाइएको अवस्थामा फेला परेको दावी गरेको छ। चीनले नियतवश उक्त भूमि कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ।

१२ नम्बर पिल्लर नयाँ बनाएको पाइएको हुम्लाकी सांसद रंगमती शाहीले बताइन्। एक वर्षको आसपासमा उक्त पिल्लर नयाँ बनेको शाहीले जानकारी दिइन्। ‘कम्पास राखेर घुमाइएको छ,’ उनले भनिन्, ‘चिनियाँहरुले भवन बनाएको भूमि नक्सामा हाम्रै देखिन्छ।’

सांसद शाहीले सीमा पिल्लर नयाँ राख्दा चीनले समन्वय नै नगरेको बताइन्। ‘दुई देशको सीमा पिल्लर एक्लै राख्न मिल्छ?’ उनले प्रश्न गरिन्, ‘कम्पास पनि घुमाइदिएको छ। छिमेकी चीनको नियत ठिक देखिएन।’

कांग्रेसको टोली भर्खरै भेटिएको भनिएको टाकुले भञ्ज्याङको ११ नम्बर पिल्लरतिर लागेको छ। सांसद शाहीले जनप्रतिनिधिको टोली ११ नम्बर पिल्लरको अवस्था बुझ्ने, थप १/२ गाउँ पुगेर वास्तविकता बुझेर फर्किने बताइन्। यसका लागि अझै एक हप्ता जति लाग्ने उनको भनाई छ।

https://pahilopost.com/content/20201005205924.html



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell