PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौंका होटल कोरोना संक्रमितले भरिभराउ हुँदै, अस्पतालको विकल्प बनेका होटलमा कस्तो छ सेवा सुविधा?



सविन ढकाल

काठमाडौंका होटल कोरोना संक्रमितले भरिभराउ हुँदै, अस्पतालको विकल्प बनेका होटलमा कस्तो छ सेवा सुविधा?

काठमाडौं : काठमाडौं उपत्यकाभित्र पछिल्लो समय कोभिड १९ संक्रमित ह्वात्तै थपिएका छन्। देशभर थपिने संक्रमितमध्ये झन्डै आधा यही हुन थालेका छन्। संक्रमितको सङ्ख्या थपिने दर बढ्दै जाँदा उनीहरुलाई राख्न अस्पतालका बेडसमेत अपुग भइसकेको छ।

त्यसैले सरकारले पछिल्लो समय सम्भव हुनेहरुलाई होस आइसोलेसनमा समेत बस्न दिने प्रावधान ल्याएको छ। त्यस्तै, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु पनि सम्भव भएसम्म होम क्वारेन्टाइनमा बसेका छन्। तर, राजधानीमा विभिन्न कामले वा अन्य कारणले डेरामा बस्दै आएकाले के गर्ने? एउटा वा दुईवटा कोठामात्र लिएर साथीभाइ, आफन्तसँग ‍शेयर गरेर बस्नेहरुका लागि झनै समस्या बनेको छ।

डेरामा बस्नेहरुमा अट्याच बाथरुम तथा ट्वाइलेट भए खासै समस्या नपर्ला। तर, यस्तो सुविधा सबैको लागि सम्भव देखिँदैन। तर, पछिल्लो समय भने धेरै संक्रमित तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको लागि विकल्प बनेको छ होटल।

होटल एसोसियसन नेपालले काठमाडौं उपत्यकाभित्र ८० वटाभन्दा बढी होटलहरुमा संक्रमित तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई राख्ने व्यवस्था मिलाएको छ। टुरिस्टदेखि पाँच तारे होटलले समेत संक्रमितदेखि जोखिममा रहेका मानिसहरुलाई राख्दै आएको छ। त्यसका लागि विशेष प्याकेज नै संचालन गरिरहेका छन्।

यसरी सरकारको अनुमितमा नै होटलमा क्वारेन्टाइनदेखि आइसोलेसनमा समेत राख्ने व्यवस्था गरिएको हो। होटलहरुमा धेरै जसो कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु जाने गरेका छन्। विदेशबाट आएकाहरुको पनि पहिलो रोजाइ यस्तै होटल हुने गर्छ।

कमलादीमा रहेको होटल ल्यान्डमार्कमा रहेका ४५ वटा रुममध्ये आधाजसो यस्तै 'ग्राहक'ले भरिएको छ। आधाभन्दा धेरै रुम अकुपाई भएको होटलका कर्मचारी पर्वत थापाले जानकारी दिए।

यस होटेलमा बस्न एक जनाले दैनिक ५ हजार रुपैयाँ तिर्नुपर्छ। ट्याक्स र सर्भिस चार्ज भने लाग्दैन। यसमा चार पटकको खाजा/खाना समावेश छ। दुई जना बस्ने हो भने ७ हजार रुपैयाँमा यहाँ बस्न पाइन्छ।

'अहिले विदेशबाट आएकाहरु हुनुहुन्छ। कोभिड १९ संक्रमित भने हुनुहुन्न। उहाँहरु सबै कन्ट्याक्ट् ट्रेसिङमा पर्नुभएकाहरु हो,' थापाले भने।

कान्तिपथस्थित एलो प्यागोडा होटलले पनि संक्रमित तथा कन्ट्याक्ट ट्रेसिङ परेकाहरु राख्ने गरेको छ। होटलमा आवश्यक परेको समयमा चिकित्सकको सेवासमेत दिइरहेको छ। यो होटलका रुम पनि भरिएको छ।

'म आएको केही दिन भयो। राम्रो व्यवस्था छ भनेर सुनेर आएको हो। ठिकै लाग्यो,' होटलमा बसिरहेका एक कोभिड संक्रमितले भने। होटलको रुममा बसेका यस्ता संक्रमितलाई होटलको कोठाभन्दा बाहिर निस्किन दिइँदैन। उनीहरुले नै कोठा सफा गर्नुपर्ने हुन्छ। त्यसको लागि आवश्यक उपकरण उपलब्ध गराउने गरेको छ। एलो पेगोडामा दैनिक ५ हजार तिर्नुपर्छ। यसमा अतिरिक्त सेवा सुविधा र ट्याक्स भने छुटै तिर्नुपर्छ। यसमा पनि ब्रेकफास्ट, लन्च,  हाइ टी र डिनरको व्यवस्था गरिएको छ।

लाजिम्पाटमा रहेको पाँच तारे सांग्रिला होटेलले पनि कन्ट्याक्ट् ट्रेसिङमा परेकाहरुलाई राख्दै आएको छ। 'एयरलाइन्सका कर्मचारीहरु हुनुहुन्थ्यो। अहिले भने खालीजस्तै छ। हाम्रो होटलमा कोभिड-१९ को कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई राख्ने गरिएको छ,' होटलका कर्मचारी बबिता पाण्डेले जानकारी दिइन्।

पाँचतारे होटेल सांग्रिलामा भने एक जनाको दैनिक ९ हजार रुपैयाँ लाग्छ। एउटै कोठामा दुई जना बस्ने भए १२ हजार रुपैयाँ रेट तोकिएको छ। यसमा पनि चार टाइमको खानादेखि खाजासम्मको व्यवस्था गरिएको छ।

काठमाडौं उपत्यकाभित्र पढाइका शिलशिलामा आएकाहरुको लागि भने होटलको क्वारेन्टाइन बसाई खर्चिलो हुन्छ। क्वारेन्टाइनमा ठाउँ नपाउनु र अस्पतालमा बेड नहुँदा उनीहरुका लागि होटल आइसोलेसन वाध्यकारी बनेको छ।

होटेल आर्य तारामा ४० वटा रुम रहेका छन् जसमा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई राखिन्छ। केही समयअघि यस होटलमा पनि कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु राखिएको थियो। अहिले भने खासै ग्राहक नभएको होटेलका कर्मचारी मेगा अमगाइले जानकारी दिए। 'हामीले सुरुमा राखेका थियौं। अहिले पनि आए भने राख्छौ,' उनले भने। होटलले एक जनाको ३२ सय रुपैयाँ लिँदै आएको छ। दुई जना बस्ने भए चार हजारमा एउटा रुम उपलब्ध गराउँछ यसले। यसभित्र खाना र खाजासमेत रहेको छ। सर्भिस चार्ज भने लाग्दैन।

ठमेलमा रहेको मनाङ होटलले पनि क्वारेन्टाइनमा ग्राहकहरुलाई राख्दै आएको छ। एक जना ग्राहकको ६ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

होटल एसोसियसनले होटेलको स्तर हेरेर रकम तोकेको छ। पाँचतारे होटलले एउटा रुमको ९ हजार रुपैयाँसम्म लिन पाउँछन्। त्यही रुम दुई जनाले शेयर गरेर बस्ने भए ६ हजार प्रतिव्यक्ति पर्न आउँछ। त्यस्तै, चारतारे होटलको लागि ८ हजार रुपैयाँ एउटा रुमको पर्छ। यसमा पनि शेयर गरेर बस्दा ५ हजार ५ सय पर्ने गर्छ जनही। थ्री स्टारको लागि एकजनालाई ६ हजार मूल्य निर्धारण गरिएको छ। दुई जना बस्ने भएको खण्डमा ४ हजार रुपैयाँमा प्रतिव्यक्ति पर्न आउँछ। यसमा खानादेखि खाजासम्म उपलब्ध हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell