PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

१२ वर्षपछि यतीको सिमरा उडान: भाडा तोकियो दुई हजार



पहिलोपोस्ट

१२ वर्षपछि यतीको सिमरा उडान: भाडा तोकियो दुई हजार

काठमाडौं : निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ।

कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो। यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्रो गन्तव्य हो। एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिए।

उनका अनुसार आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९:१० बजे पहिलो उडान गरेको छ। दोस्रो उडान साँझ ४:४५ बजे हुनेछ।

'अब सिमरा नियमित रुपले दैनिक दुई उडान हुनेछन् र यात्रुको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ। उच्च सर्तकता अपनाएर उडान शुरु गरेकाले यात्रुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ,' प्रवक्ता बर्तौलाले भने।

आज पहिलो दिन काठमाडौँ–सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोलाप्रथा मार्फत् एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइने समेत उनले जानकारी दिए।

यतीले हालका लागि प्रमोशनल भाडा काठमाडौँ–सिमरा–काठमाडौँको एकतर्फी रु एक हजार ९ सय ९९ तोकेको छ। यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ। केही दिनअघि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सी र मोबाइल एप्समार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ।

विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन्। यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell