इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज चेन्नइ सुपर किंग्स र कोलकता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्। शेख जायद स्टेडियम अबुधावीमा साँझ पौने ८ बजे सुरु हुने खेलमा दुबै टिमको लक्ष्य जित निकाल्दै अंकतालिकामा स्थान सुधार गर्ने हुनेछ। अहिले समान ४/४ अंकको साथमा कोलकता र चेन्नइ क्रमश चौथो र पाँचौं स्थानमा छन्।
जारी सिजन पाँच खेल खेलेको चेन्नइले ३ खेलमा हार र २ खेलमा जित निकालेको छ भने कोलकताले ४ खेल खेल्दै समान २/२ खेलमा हार र जित निकालेको छ।
कोलकताका कप्तान दिनेश कार्तिक र अलराउण्डर आन्द्रे रसेल खास जम्न सकेका छैनन्। कात्तिकले पछिल्ला ४ खेलमा ३७ रन जोडेका छन् भने रसेलले ४७ रन जोडेर ४ विकेट लिएका छन्। त्यस्तै सुनिल नारेनको प्रदर्शन पनि यसपाला खास छैन।
कोलकताका कप्तान कार्तिक कप्तानका रुपमा र ब्याट्म्यानका रुपमा आलोचना झेलिरहेका छन्। कोलकताले विश्वकप विजेता इङ्ग्ल्याण्डका कप्तान इयोन मोर्गनलाई ल्याएर पनि कार्तिकलाई कप्तानी दिइरहँदा उनको प्रदर्शनलाई लिएर समर्थकहरुले आलोचना गर्न थालेका हुन्। त्यसमा पनि उनका केही निर्णयहरु गलत सावित भएको देखिन्छन्। उनी मोर्गन र आन्द्रे रसेल भन्दा अघि ब्याटिङ गरिरहँदा बिग ब्यासमा उत्कृष्ट प्रदर्शन गरेका टम बेन्टनको स्थानमा सुनिल नारेनलाई अघि ल्याइरहेका छन्।
अर्कोतर्फ उद्घाटन खेलमा साविक विजेता मुम्बइलाई हराएको चेन्नइले लगातार तीन खेलमा हार ब्यहोरेपछि यसअघिको खेलमा सानदार जित निकालेको थियो। पञ्जाबलाई १० विकेटले हराउँदा चेन्नइका फाफ डुप्लिसिस र सेन वाट्सने सानदार पारी खेलेका थिए।
पछिल्लो समय अम्बाती रायडू र ड्वेन ब्राभो चोटबाट फर्किएपछि चेन्नइको टिममा सन्तुलन अझ राम्रो भएको छ।
चेन्नइ र कोलकताबीच हालसम्म २० वटा म्याच भइसकेका छन् जसमा चेन्नइले १३ र कोलकताले ७ वटा खेल जितेको छ। यी टोलीबीचका पछिल्ला पाँच खेलहरुमा पनि चेन्नइ हावी देखिन्छ। पछिल्ला पाँचखेलमा चेन्नइले ३ र कोलकताले २ जित निकालेको छ।
