काठमाडौं : पछिल्लो २४ घण्टामा ६५ जिल्लामा कोभिड-१९ का संक्रमितहरुको पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको १४ हजार २०९ नमुना परीक्षणका क्रममा १ हजार २६१ महिला र २ हजार १७८ पुरुष गरी तीन हजार ४३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यो २४ घण्टामा थप भएका संक्रमित मध्ये सबैभन्दा बढी हो।
पछिल्लो २४ घण्टामा भएको परीक्षणको २४.२० प्रतिशतमा संक्रमण पुष्टि भएको छ। जुन ४.१३ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या ९४ हजार २५३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपाल खराब मुलुकहरुको सूचीमा ४४ औं स्थानमा पुगेको छ।
पछिल्लो २४ घण्टामा तीन हजार ४३९ संक्रमित थपिँदा एक हजार १२६ मा संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ।
उपत्यकामा १ हजार ६८४
यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र एक हजार ६८४ जना संक्रमित पहिचान भएका छन्। जुन पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको ४८.९६ प्रतिशत हो।
जसमध्ये काठमाडौं उपत्यकामा मात्र एक तिहाई भन्दा बढी छन्। काठमाडौं जिल्लामा एक हजार २९६ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये ५१८ महिला र ७७८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै, ललितपुर जिल्लामा २९३ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये १३० महिला र १६३ पुरुष हुन्। भक्तपुर जिल्लामा १८ महिला र ५२ पुरुष गरी ९५ जना संक्रमित पहिचान भएका छन्।
५९ प्रतिशत संक्रमित वाग्मतीका
यसैबीच, पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये ५९.२९ वाग्मती प्रदेशका मात्र हुन्। वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा दुई हजार ३९ जना संक्रमित पहिचान भएका छन्।
जसमध्ये उपत्यकामा मात्र एक हजार ६८४ जनासहित चितवन जिल्लामा १३१ जना छन्। चितवनमा ४२ महिला र ८९ पुरुषमा संक्रमण पुष्टि हुँदा मकवानपुर जिल्लामा २८ महिला र ७१ पुरुष गरी ९९ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै, काभ्रेपलान्चोकमा १६ महिला र ३५ पुरुष गरी ५१ जना संक्रमित पहिचान भएका छन्।
त्यस्तै, वाग्मतीपछि सबैभन्दा बढी प्रदेश १ मा संक्रमित पहिचान भएका छन्। प्रदेश १ मा ५५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
संक्रमण पुष्टि भएकामध्ये ३२२ जना मोरङका मात्रै हुन्। त्यहाँ १२९ महिला र १८३ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, सुनसरीमा ८९ महिला र १०४ पुरुष गरी १९३ जना संक्रमित पहिचान भएका छन्।
त्यस्तै, लुम्विनी प्रदेशमा ३६९ जना संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा लुम्बिनीका १२ वटै जिल्लामा नयाँ संक्रमित पहिचान भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
संक्रमितमध्ये रुपन्देहीमा १३० जना छन्। त्यहाँ ५१ महिला र ७९ पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बाँकेमा ४० महिला र ६६ पुरुष गरी १०६ जना संक्रमित पहिचान भएका छन्।
त्यस्तै, प्रदेश २ का ८ वटै जिल्लामा १५० जनामा संक्रमण पुष्टि भएको छ भने गण्डकीका ९ जिल्लामा १३८ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ।
कर्णाली प्रदेशका ६ जिल्लामा ९७ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये सुर्खेतका मात्र २१ महिला र ५७ पुरुष गरी ७८ जना हुन्।
त्यस्तै, सुदूरपश्चिमका ९ जिल्लाका ८९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये दार्चुलाका मात्र ९ महिला र ३९ पुरुष गरी ४८ जना छन्।
१५ मृत्यु उपत्यकामा मात्र सात जना
यसैबीच, पछिल्लो २४ घण्टामा १५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु भएका संक्रमितमध्ये ५ महिला र १० पुरुष छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ र ललितपुरमा १ गरी उपत्यकामा ७ संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौंका ६६ र ७२ महिलाहरु छन्। त्यस्तै, काठमाडौंकै ४५, ५३,६४ र, ६९ वर्षका पुरुषको पनि मृत्यु भएको छ। ललितपुर जिल्लाका ६१ वर्षका कोभिड-१९ संक्रमित पुरुषको पनि मृत्यु भएको छ।
त्यस्तै, चितवनका ५५ वर्षका महिलाको पनि संक्रमणबाट मृत्यु भएको छ। यसैबीच, प्रदेश १ को मोरङका ४० र ६० वर्षका दुई पुरुष तथा प्रदेश २ को सिराहाका ५० र रौतहटका ७२ वर्षका दुई महिलाको मृत्यु भएको छ।
नवलपरासी पूर्वका ७६ वर्षका पुरुष तथा रुपन्देहीका ५५ वर्षका पुरुष र दाङका ७१ वर्षकी महिलाको पनि मृत्यु भएको छ।

