PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको भयो सफल उपचार



रासस

भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको भयो सफल उपचार
फाइल फोटो।

भरतपुर : चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमित बिरामीको सफल उपचार गरिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो।

गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालका प्लाज्मा थेरापी कोअर्डिनेटर कन्सल्टेन्ट फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए। संक्रमितलाई यही असोज ७ गते प्लाज्मा थेरापीबाट उपचार गरिएको उनले बताए।

उक्त अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको डा सापकोटाले जानकारी दिए। करिब १५ दिन आइसीयू र चार दिन वार्डमा उपचारपछि पुरुष निको भएर मंगलवार घर फर्किएका छन्।

प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना संक्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको छ। अस्पतालले अन्य संक्रमित भएर निको भएकालाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ।

कोरोना भाइरस संक्रमणका कारण मृत्यु नजिक पुगेका बिरामी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर घर फर्किंदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत उत्साहित र खुशी देखिएका थिए। उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताले जटिल अवस्थामा पुगेका कोरोना संक्रमितलाई बचाउन सकिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell