सर्लाही : नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले मिटर रिडिङ नगरिकन जरिबाना असुलेको स्थानीय उपभोक्ताहरुको गुनासो छ। कोभिड-१९ नियन्त्रणका लागि सरकारले लकडाउन गरेको समयमा आफूहरुको मिटर रिडिङ नगरी बसेको उक्त केन्द्रले जरिबानास्वरूप उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताहरुको भनाइ छ। उक्त केन्द्रका कर्मचारीले खपत शुल्कमा मनलाग्दो जरिबाना लिने गरेको स्थानीय उपभोक्ता श्याम लामाले बताए।
विगत पाँच/छ महिनादेखि मिटर रिडिङ नगरी बसेका कर्मचारीले लकडाउन अलि सहज भएपछि बिलबमोजिमको रकम तिर्नका लागि सूचना जारी नगरी जरिबानासहितको शुल्क असुलेको अर्का स्थानीयवासी रमेश कार्की बताउँछन्।
सरकारले लकडाउनको समयमा विद्युत महसुलको जरिबाना नलिन निर्देश गरेपनि उक्त केन्द्रले बिनामिटर रिडिङ जरिबाना असुलेको गुनासो आएको हो। शुरु शुरुमा समस्या भएपनि अहिले त्यो समस्या समाधान भइसकेको र विद्युत उपभोक्तालाई सबै विकल्प उपलब्ध गराउँदा पनि उनीहरुले बेवास्था गरेका र सबैलाई यसबारे जानकारी नभएका कारण पनि समस्या आएको हुनसक्ने उक्त केन्द्रका प्रमुख सुधिरकुमार राय बताउँछन्।
पहिलाको निर्णयअनुसार असोज ६ गतेपछि जरिबाना लिने भनिएकाले सोही अनुसार जरिबाना लिएको तर फेरी बिद्युत प्राधिकरणले असोज २२ गतेसम्म जरिबाना नलिने निर्णय गरेपछि पहिले लिइएका जरिबाना खपत युनिटबाट घटाउने निर्णय भएको उनको भनाइ छ।