PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बदनाम विद्यार्थी संगठनको निर्लज्ज पारा, त्रिवि विभागीय प्रमुख नियुक्तिको विवादमा गुरुमाथि नै निर्घात कुटपिट



प्रकाश भण्डारी

बदनाम विद्यार्थी संगठनको निर्लज्ज पारा, त्रिवि विभागीय प्रमुख नियुक्तिको विवादमा गुरुमाथि नै निर्घात कुटपिट

काठमाडौँ: नियुक्ति विवाद चर्किरहने त्रिभुवन विश्वविद्यालयको पछिल्लो नियुक्ति पनि विवादमै तानियो। आफू निकटका व्यक्ति नपर्दा तोडफोड र हिंसात्मक गतिविधिले समेत निरन्तरता योपटक पनि पायो।

समाजशास्त्र विभागको नेतृत्व आफू निकटकालाई नदिएको भन्दै थालिएको विरोध वार्ताबाट पनि समाधान भएन। महिनौँसम्म विभागमा ताला लाग्यो। प्रशासनले ताला खोल्दा पनि असन्तुष्ट समूले ताला झुन्ड्याइराखे।

विरोध तालाबन्दी हुँदै हिंसात्मक आक्रमणमा परिणत भएपछि भने विभागमा कार्यरत उपप्राध्यापक प्रेमबहादुर चलाउने निसानामा परे।

नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीले  चलाउनेलाई निर्घात कुटपिट गरेको समाजशास्त्र विभागका उपप्राध्यापक गुमानसिं खत्रीले दाबी गरे। 'कुटाइबाट चलाउनेको दुबै खुट्टाका हड्डी भाँचिएको छ भने टाउकोमा ठूलो चोट देखिएको छ,'खत्रीले भने,' 'दुईटा मेजर अपरेसन गर्नुपर्ने देखिएको छ।' हाल उनी मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन्।

यस्तो थियो लफडा

समाजशास्त्र विभागको विभागीय प्रमुख डा. युवराज लुइँटेल नियुक्त भएपछि नेविसंघको एउटा समूह असन्तुष्ट बन्यो। नियुक्तिको विरोधमा उक्त समूहले भदौ १ गते विभागमा तालबन्दी गर्‍यो, लुइँटेललाई फिर्ता बोलाउनुपर्ने माग गर्दै।

तर, त्रिविले उनी वरिष्ठताका आधारमा नियुक्ति भएको र माग सम्बोधन गर्न नसकिने नेविसंघलाई जवाफ दियो। नियुक्तिदेखि नै असन्तुष्ट नेविसंघ विश्वविद्यालको जवाफले झनै आक्रोशित थियो। उनीहरुले तोडफोड र धम्कीपूर्ण तरिकाले प्रशासनलाई दबाब दिइरहेकै थिए। तर वार्ताबाट समस्या समाधान गर्न भने नेविसंघ तयार भएन।

असोज ९ गते विभागले तालाबन्दी हटाउन पहल गर्दै ४८ घण्टाको अल्टिमेटम दिएको थियो। तर विरोध गरिरहेका विद्यार्थी वार्तामा आउन तयार भएनन्।

सम्पर्कमा नआएको भन्दै विभागले १४ गते विज्ञप्ति जारी गर्दै तालबान्दी हटायो। तालाबन्दीले शैक्षिक तथा प्रशासनिक गतिविधिमा तालाबन्दीले असर परेको विभागको ठहर थियो।

क्याम्पस प्रशासनबाट क्रुद्ध बनेको संघले पुन: विभागको प्रशासनमा ताला झुण्ड्याइदियो। प्रशासन ताला खोल्ने र नेविसंघ तालाबन्दी गर्ने श्रृंखला केही समय चलि नै रह्यो।

दोस्रो पटकको तालाबन्दीका बेला विभागका उप-प्राध्यापक र नेविसंघका विद्यार्थीबीच भनाभन भएको थियो। 'किन तैले लुइँटेल सरलाई समर्थन गरेको भन्दै भनाभन भएको थियो, 'समाजशास्त्र विभागका उप-प्राध्यापक खत्रीले भने। 'तैले लुइँटेललाई समर्थन गरे जे पनि हुनसक्ने भन्दै उहालाई धम्की दिएका रहेछन्,' खत्रीले भने।

आक्रोशित बनेको नेविसंघ निकट विद्यार्थी चलाउनेमाथि आक्रमणको योजना बनाइरहेको खत्रीको दाबी छ।

योजनाबद्ध ढंगले मंगलबार दिउँसो त्रिवि परिसरभित्र नेपाल बैंकको एटीएम छिरेर निस्कँदै गर्दा एक समूहले चलाउनेमाथि आक्रमण गर्‍यो। फलामको रडले हानेर निर्घात कुटपिट पछि उनीहरु भागेका थिए।

उपप्राध्यापक खत्रीले उनीहरु चढेर आएको बाइकको पहिचान भएको बताएका छन्। लुइँटेल कम्युनिष्ट निकट प्राध्यापक मानिन्थे।

खत्रीले वरिष्ठताकै आधारमा विश्वविद्यालयले लुइटेललाई नियुक्ति दिएको दाबी गरे। 'विश्वविद्यालको समाजशास्त्र विभागमा अहिले वरिष्ठताका आधारमा उहाँ नै वरिष्ठ हुनुहुन्थ्यो। र, यो पटक नै भिसीले वरिष्ठताका आधारमा नियुक्ति दिने व्यवस्था गर्नुभएको हो,' उनले भने।

नेविसंघका विद्यार्थीले कांग्रेस निकटकालाई विभाग हाँक्ने जिम्मेवारी दिनुपर्ने माग राख्दा समस्या साम्य भएन। बरु विश्वविद्यालयले नेविसंघको माग बमोजिम नियुक्ति नदिएपछि बिरोधले हिंसात्मक रुप लियो।

'नेविसंघका विद्यार्थी होइनन्, अपराधी हुन्'

नेपाल प्रध्यापक संघले चलाउनेमाथि भएको आक्रमणको निश्पक्ष छानविनको माग गरेको छ। कसले आक्रमण गरेको हो भन्नेबारे आफूलाई थाहा नभएको संघका सचिव डा. कविराज पौडेलले बताए। उनले नेविसंघका या अरु कुनै राजनीतिक भ्रातृ संगठनमा आबद्ध विद्यार्थीले प्राध्यापकमाथि सांघातिक आक्रमण नगर्ने तर्क गरे। 'उनीहरु कुन राजनीतिक आस्थाका हुन् या होइन त्यो हामीलाई थाहा भएन तर भातृ संगठनमा आवद्धले यस्तो आपराधिक काम गर्दैन प्राध्यपकमाथि। त्यसैले उनीहरु परिचालित अपराधी हुन्,' उनले भने।

प्राध्यापक संघले विश्वविद्यालभित्रै आक्रमण हुनुले विश्वविद्यालय नै असुरक्षित भएको बताएको छ। संघले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको छ।

समाजशास्त्र विभागका उपप्राध्याक खत्रीले नेपाली काँग्रेसका नेता गगन थापा र कृष्णप्रसाद सिटौला निकट विद्यार्थीले नै चलाउनेमाथि आक्रमण गरेको दाबी गरे।*

कानुन बोमोजिम कारवाही गर्न गगनको माग

विभागमा कार्यरत प्राध्यापकले गगन थापा निकट विद्यार्थीहरुले आक्रमणको आरोप लगाइरहँदा गगन थापाले भने घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गरेका छन्। उनले जुनसुकै राजनीतिक दल निकट भए पनि चलाउनेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न प्रहरीसँग अनुरोध गरेका छन्।

त्रिविका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको जति निन्दा गरे पनि पुग्दैन। आक्रमण जेसुकै बहानामा जुनसुकै...

Posted by Gagan Thapa on Tuesday, October 6, 2020

फेसबुकमा स्टाटस लेख्दै उनले घटनाको जति निन्दा गरे पनि नपुग्ने धारणा सार्वजनिक गरेका छन्। 'त्रिविका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको जति निन्दा गरे पनि पुग्दैन,' उनले भनेका छन्,' आक्रमण जेसुकै बहानामा जुनसुकै राजनीतिक आस्था र झण्डा बोक्नेले गरेको होस्,यसमा प्रत्यक्ष/परोक्ष संलग्न हुने प्रत्येकलाई तत्काल कानुन बमोजिम कारबाही गर्नैपर्छ'

आक्रमण गर्ने नेविसंघका होइनन् : अध्यक्ष ढुंगाना

समाजशास्त्र विभागले जारी गरेको विज्ञप्तिमा नेविसंघका विद्यार्थीले तालाबन्दी गरी सांघातिक आक्रमण गर्ने धम्की दिइरहेका बेला उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको दाबी गरेको छ। नेविसंघका नाममा केही समूहद्वारा तालाबन्दी गरी विभागका शिक्षकलाई सांघातिक आक्रमण गर्ने धम्की दिइरहेका पृष्ठभूमिमा ज्यान मार्ने उद्देश्यका साथ प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणप्रति विभागको ध्यानकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ।

साजशास्त्र विभागले आक्रमण गर्ने व्यक्ति नेविसंघकै भएको इंगित गर्दा नेविसंघले भने आफ्ना विद्यार्थी नभएको जनाएको छ। नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले आफ्ना संगठनका विद्यार्थीले आक्रमण नगरेको दाबी गरे। उनले यो विषयमा छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्ने बताए। 'कहाँ नेविसंघकाले गरे र। नेविसंघकाले आक्रमण गरेका छैनन्। म यसबारेमा बुझिरहेको पनि छु,' उनले भने।

*यसअघि समाजशास्त्र विभागका उपप्राध्यापक गुमानसिं खत्रीले उक्त बाइकबारे दिएको सूचना गलत भएको पाइएकोले सच्याइएको छ। सं.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell