PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुदूरपश्चिममा ६७ जना सुरक्षाकर्मीसहित १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिममा ६७ जना सुरक्षाकर्मीसहित १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि
फाइल फोटो।

कैलाली : सुदूरपश्चिम प्रदेशका थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २३ जनाको कोरोना परीक्षण गर्दा एक सय १९ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको कोरोना परीक्षण गरिएकोमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा मात्रै ४१ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये २२ जना जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हुन्।

यस्तै, टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका वडा नम्बर १ का दुई जना र भजनी नगरपालिका वडा नम्बर ६ का एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। उनका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुराका कोभिड-१९ सम्पर्क व्यक्ति हरि भट्टका अनुसार दार्चुलाका ४६ जना र डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो।

दार्चुलाका ४६ मध्ये ४५ जना सशस्त्र प्रहरी बल नम्बर ४४ गण दार्चुलामा कार्यरत सशस्त्र प्रहरी हुन्। सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी नायब निरीक्षकसम्मका ४५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको छ। उनीहरू थलारा गाउँपालिकाका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell