काठमाडौँः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनशतरत डा. गोविन्द केसीका मागमा छलफल गर्न वार्ता टोली गठन गरेको छ। चिकित्सक संघले आन्दोदन घोषणा गरेलगत्तै सरकारले वार्ता टोली घोषणा गरेको हो। टोलीको संयोजकमा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली रहेका छन्।
यस्तै, सदस्यहरुमा चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव गुणराज लोहनी रहेका छन्।
टोलीले बिहीबारबाटै डा. केसीका प्रतिनिधिसँग वार्ता प्रारम्भ गर्ने मन्त्रालय स्रोतले जानकारी दियो।
यसअघि सरकारसँग भएका सम्झौता पालनाको माग गर्दै केसी अनशनमा छन्। कर्णालीबाट सुरु भएको अनशन केसीलाई काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा जारी छ।
यता नेपाल चिकित्सत संघले भने केसीको जीवन रक्षाको अपिल गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। केसीसँग भएका सम्झौता कार्यान्वयनबारे सरकार जिम्मेवार नदेखिएको भन्दै संघले असोज २२ गतेबाट चरणवद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।
असोज २२ गते दुई घण्टा र २३ गते दिनभर आकस्मिक र कोभिडबाहेकका अन्य सेवा बन्द गर्ने संघले जनाएको छ।
