इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा कोलकता नाइट राइडर्सले चेन्नइ सुपर किंग्सलाई पराजित गरेको छ। शेख जायेद स्टेडियममा भएको खेलमा कोलकताले चेन्नइलाई १० रनले पराजित गरेको हो।
१ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो।
चेन्नइका लागि शेन वाटसनले सर्वाधिक ५० रन जोड्दा अम्बाती रायुडुले ३०, रविन्द्र जडेजाले २१ तथा साम करन र फाफ डुप्लेसिसले १७/१७ रन जोडे। कप्तान महेन्द्र सिंह धोनीले ११ रन जोडे।
कोलकताका लागि शिभम माभी, वरुण चक्रवर्ती, कमलेश नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १६७ रन जोडेको थियो।
कोलकताका लागि राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाउँदा सुनिल नारिन र प्याट कमिन्सले १७ रन जोडे। त्यसबाहेकका अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।
उता चेन्नइका लागि ड्वेन ब्राभोले ३ विकेट लिँदा सार्दुल ठाकुर, कर्ण शर्मा, र साम करनले समान २/२ विकेट लिए।
