ब्राजिलमा कोरोना भाइरस संक्रमित केस ५० लाख पार भएको छ भने मृत्यु हुने संक्रमितको संख्या १ लाख ५० हजार नजिक पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो ३१ हजार ५ सय ५३ नयाँ केस थपिएपछि ब्राजिलमा कूल संक्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको हो।
कोभिड १९ का कारण विश्वका खराब अवस्थाबाट गुज्रिरहेका मुलुकमा ब्राजिल तेस्रो स्थानमा छ। अमेरिका र भारत ब्राजिलभन्दा अगाडि छन्।
राष्ट्रपति जैर बाल्सोनारोमाथि आरोप छ - पेन्डामिकको अवस्थामा खेलभाड गरेको, विज्ञहरुको सुझाव लत्याएको र नियन्त्रणका उपायहरु अगाडि नबढाएकोमा।
बाल्सोनारोले उनीमाथिका आरोपलाई ठाडै अस्वीकार गरेका छन्। आफ्नो बचाउमा उनले लकडाउन नगर्नुको कारण खुलाएका छन् - अर्थतन्त्र जोगाउन। आर्थिक अवस्था जोगाउनका लागि लकडाउन नगरिएको उनको भनाइ छ।
हिजो ब्राजिलमा ७ सय ३४ जनाको मृत्यु भयो। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुने संक्रमितको संख्या १ लाख ४८ हजार २ सय २८ पुगेको छ। ल्याटिन अमेरिकी मुलुकमध्ये सबैभन्दा धेरै संक्रमितको मृत्यु ब्राजिलमा भएको छ।
ब्राजिलको साओ पाउलोमा अवस्था सबैभन्दा धेरै खराब छ जहाँ ३६ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्। त्यसैगरी रियो दे जेनेरियोमा १९ हजार मानिसले ज्यान गुमाएका छन्।
केही साता यता भने ब्राजिलमा संक्रमितको संख्या र मृत्युदर दुवै घटेको छ। एक सातामा ७ हजार जनासम्मको मृत्यु भएको ब्राजिलमा अहिले सातामा ५ हजारको मृत्यु रेकर्ड हुन थालेको छ।
संख्याको हिसाबमा ब्राजिलको अवस्था युरोपेली मुलुकहरुको भन्दा दयनीय छ। तर, अवस्था सामान्यतर्फ गइरहेको छ। पसलहरु, रेस्टुराँ र स्कुलहरु पुन खुल्न थालेका छन्।
