काठमाडौं : बुधवार एक सात वर्षीय बालिकालाई जवर्जस्ती करणी गर्न लागेको समयमा बाटोमा हिँड्ने मानिसले देखेर उद्धार गरेका छन्। बुधवार दिउँसो सवा ३ बजेतिर कोटेश्वर महादेवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकैबाट बालिकाको उद्धार गरिएको हो। त्यस्तै जबर्जस्ती करणी गर्न खोज्ने पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङ घोराही नगरपालिका ४ घर भई हाल कोटेश्वरको महादेवस्थान बस्दै आएका ४३ वर्षीय दुर्गे विकलाई नियन्त्रणमा लिएको हो।
'सर्वसाधारणले जानकारी दिएपछि हामी घटनास्थल पुगेर एक पुरुषलाई नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले भने।
एक युवकले दिउँसो अफिसको कामले सोही स्थानबाट आउँदै गर्दा देखेपछि यसबारे जानकारी गराएका थिए।
प्रहरी नियन्त्रणमा रहेका विकले मदिरा समेत खाएको देखिएको छ।
'बालिकालाई ललाइफकाइ गरेर जवर्जस्ती करणी गरेको देखिपछि स्थानीयले खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको छ,' एसपी राठौरले भने।
