काठमाडौं : सरकार र प्राध्यापक डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता केही बेरका लागि रोकिएको छ। शिक्षा मन्त्रालयका अधिकारीहरुको ब्यस्तताका कारण केही बेरका लागि रोकिएको र फेरि साढे ४ बजे बस्ने केसीका सहयोगी डा. प्रितम सुवेदीले जानकारी दिए।
सरकारले बुधवार शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। सदस्यहरुमा चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहससचिव गुणराज लोहनी रहेका छन्।
डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ जना सहभागी छन्। डा. अंजनीकुमार झा, डा लोचन कार्की र ओमप्रकाश अर्याल सहभागी छन् ।
केसीले यसपटकको अनशन ६ बुँदे मागसहित सुरु गरेका हुन्। यसअघि १८ औं पटकसम्म आमरण अनशन बसेका उनले सरकारसँग विभिन्न सहमति गर्दै अनशन तोड्दै आएका थिए।
यसपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन कार्यक्रम सञ्चालन गर्नुपर्ने, २०७५ साउन १० को सहमति कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा बरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुपर्ने, अछामको बयलपाटा अस्पतालको आर्थिक पाटो सबल बनाउनुपर्ने लगाएतका माग राखेर अनशनमा बसेका हुन्।
२०६९ असार २१ मा पहिलो अनशन थालेका केसीले गत वर्ष साउन १० मा सरकारी वार्ता टोलीसँग ९ बुँदे सहमति गर्दै अनशन तोडेका थिए।
