काठमाडौं : पछिल्लो २४ घण्टामा ६८ जिल्लामा कोभिड-१९ का थप संक्रमितहरुको पहिचान भएको छ।
पछिल्लो २४ घण्टामा ४.२३ नमुना परीक्षण गर्दा एक नमुना पोजेटिभ भएको छ। देशभरका प्रयोगशालामा भएको १८ हजार ४७३ नमुना परीक्षणका क्रममा एक हजार ५६१ महिला र दुई हजार ३६४ पुरुष गरी चार हजार ३६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। जुन २४ घण्टामा भएको परीक्षणको २३.६२ प्रतिशत पोजेटिभ पुष्टि भएको हो।
उपत्यकामा २५४०
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र दुई हजार ५४० जना संक्रमित पहिचान भएका छन्। जुन पछिल्लो २४ घण्टामा पुष्टि भएका संक्रमितको ५८.२० प्रतिशत हो।
जसमध्ये काठमाडौं जिल्लामा मात्र दुई हजार ८५ जना संक्रमित पहिचान भएका छन्। काठमाडौंमा ७९९ महिला र एक हजार २८६ पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुर जिल्लामा ३२० जना संक्रमित पहिचान भएका छन्। ललितपुरमा १२४ महिला र १९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै भक्तपुर जिल्लामा ६९ महिला र ६६ पुरुष गरी १३५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा मात्र करिब दुई तिहाई संक्रमित पहिचान भएका छन। बागमती प्रदेशमा दुई हजार ८३९ जना मा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जुन ६५ प्रतिशत हो।
बागमतीका १२ जिल्लामा संक्रमण पुष्टि हुँदा मकवानपुरमा १०५, धादिङमा ७१ र चितवनमा ६९ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा प्रदेश १ का १४ वटै जिल्लामा कोभिड-१९ का संक्रमितहरु पहिचान भएका छन्। प्रदेश १ मा ५९३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये मोरङमा २४९ र सुरनसरीमा २१४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै लुम्विनी प्रदेशका ११ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जसमध्ये रुपन्देही जिल्लामा १९९ जना छन्। त्यस्तै बाँकेमा ५७ र दाङमा ५५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै प्रदेश २ मा १६५, कर्णालीमा १३७ र सुदुरपश्चिममा ११६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै गण्डकी प्रदेशमा ९७ जनामा संक्रमण पुष्टि भएको छ।

