PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

डा केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने वीरगंजका चिकित्सकहरुको चेतावनी



राधेश्याम पटेल

डा केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने वीरगंजका चिकित्सकहरुको चेतावनी

वीरगंज : वीरगंजका चिकित्सकहरुले शुक्रवारदेखि आकस्मिक बाहेक सबै उपचार सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। प्राध्यापक डा गोविन्द केसीको मागको समर्थन गर्दै आन्दोलित भएका वीरगंजका चिकित्सकहरुले उनको माग यथाशिघ्र सम्बोधन गरी अनशन तोडाउन सरकारलाई आग्रह गरेका छन्।

नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजमा आबद्ध करिब साढे ३ सय डाक्टरहरुले वीरगंजका करिब २६ वटा अस्पतालमा आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प पार्ने कार्यक्रम तय गरेको संघका सचिव डा उदयनारायण सिंहले जानकारी दिए।

‘हामीले असोज १५ गतेदेखि धर्ना, प्रदर्शन तथा असोज २२ गतेदखि २४ घण्टे रिले अनशन पनि शुरु गरेका छौ,’ उनले भने, ‘डा केसीको अवस्था गम्भीर बन्दै गएको छ, सरकार उनको अनशन तोडाउन उनको जीवन रक्षाको लागि गम्भीर देखिएको छैन, तसर्थ यस्तो कडा आन्दोलन गर्न हामी बाध्य बनेका हौँ।’

त्यसैगरी, संघका अध्यक्ष डा अरुणकुमार सिंहले वार्ता सफल भए डाक्टरहरुको आन्दोलनका कार्यक्रमहरु फिर्ता पनि हुन सक्ने बताए। चिकित्सा शिक्षामा सुधार तथा विगतको सम्झौता कार्यान्वयनमा नेपाल सरकारले बेवास्ता गर्दा डा केसीले २४ दिन अघि १९ औँ अनशन हुम्लाबाट शुरु गरेका थिए।

उनको २४ दिनमा लो ब्लडप्रेसर र डिहाईड्रेसन तथा शारीरिक अवस्था जटिल बन्दै गएपछि देशभरका डाक्टर तथा स्वास्थ्यकर्मी एवं समाजिक संस्था, नागरिक उनको समर्थन गर्दै प्रदर्शनमा उत्रेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell