रामानन्द सरकारले बाँच्नकै लागि शव जलाउँछु भन्ने कहिल्यै सोचेका थिएनन्। तर, उनी ऋणमा डुबे। पैसाको साह्रै अभाव भयो। ४३ वर्षीय उनी भारतको पूर्वोत्तर आसाम राज्यको सुदूर गाउँबाट भागे, ठेलागाडामा उखुको रस बेच्ने व्यापार सुरु गर्न लिएको ऋण तिर्न नसकेपछि।
भागेर राज्यको राजधानीमा त पुगे। त्यहाँ उनले सहजै कहाँ रोजगारी पाउनु? त्यसैले उनी दुई वर्षअघि गुहाटीको घाटतर्फ हान्निए। चितामा आगो लगाउने काम सुरु गरे।
हिन्दुहरूका लागि मानिसको मृत्युपछिको अन्तिम संस्कारले विशेष महत्व राख्छ। दाह संस्कारलाई पवित्र मानिन्छ अनि त्यहींबाट मृत व्यक्तिको पुनर्जन्मको चक्र अन्त्य हुने विश्वास राखिन्छ।
यहाँ एउटा विरोधाभाष छ। दाहसंस्कार पवित्र मानिन्छ तर दाहसंस्कारका समय शवलाई छुने व्यक्तिलाई ‘तल्लो तह’को। समाजमा कलंक बनेर गडेको सोही विश्वासलाई अझै आड दियो कोरोना भाइरसले। जसले भारतमा मात्र १ लाख भन्दा बढी मानिसलाई मारिसकेको छ।
रामानन्दले त आफ्नो प्रतिष्ठालाई पर धकेलेर त्यो काम सुरु गरेका थिए। केही समयलाई परिवारसँग आफ्नो कामबारे ढाँटे। अन्तत: श्रीमतीसँग यथार्थ लुकाउन सकेनन्।
गत मे महिनाको सुरुवातमा एउटा शव जलाए। उनले त केवल आफ्नो कर्म पूरा गरेका थिए। थाहा पाएनन्, ती महिलाको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको थियो।
जब मानिसहरूले जलेर गएकी ती महिला संक्रमित भन्ने थाहा पाए तब रामानन्दले अनेक सुन्नु पर्यो। वास्तवमा भन्नु पर्दा चिनजानका मानिसले उनको कान फुके। शव जलाएकै कारण भोग्नु पर्ने अपमानको बाढी आयो।
राज्य सरकारले उनलाई केही दिन क्वारेन्टाइनमा राख्यो। तर, त्यस बखत घाटमा लासहरूको खात लाग्यो। रामानन्दको जिम्मेवारी सम्हाल्न तयार कोही थिएनन्।
(1).jpeg)
‘मलाई थाहा छैन मानिसहरू किन मलाई घृणा गर्छन्, मैले शव जलाउनाकै कारण,’ रामानन्द प्रश्न गर्छन्, 'यदि यो काम मैले गरिँन भने कसले गर्छ?’
उनी जे गरिरहेका छन्, आफ्नो स्वेच्छाले गरिरहेका छन्। अब त उनी विशेष घाटमा काम गर्न थालेका छन्। राज्य सरकारले कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाएकाहरूको अन्तिम संस्कार गर्नका लागि बनाएको घाट।
***
मुखमा मास्क अनि ओठमा प्रार्थनाका शब्दहरूसहित उनी शवमा दागबत्ती दिन्छन्। त्यो शव जसलाई सुरक्षा उपकरणले मुहारदेखि पूरै शरीर ढाँकेका आफन्तहरूले बोकेर ल्याएका हुन्छन्। राज्य सरकारको निर्देशन बमोजिम हतारमा कर्मकाण्ड पूरा गर्छन् र जान्छन्। त्यसपछिका सम्पूर्ण जिम्मेवारी रामानन्दकै।
आसाममा हालसम्ममा १ लाख ९० हजारभन्दा बढीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै ७ सय ८५ जनाको संक्रमणकै कारण मृत्यु भएको छ। रामानन्द आफूले मात्रै ४ सय ५० जनाको चिता जलाएको दावी गर्छन्।
महामारीको समयमा शव व्यवस्थापनमा त उनको भूमिका उल्लेख्य रह्यो नै। उनको निजी जीवन भने दिन प्रतिदिन लथालिङ्ग बन्दै छ।
उनको कामबारे थाहा पाएपछि घरबेटीले ठाउँ खाली गर्न निर्देशन दिए। धन्य, जिल्लाकै एक सरकारी कर्मचारीले उनलाई होटलमा बस्ने व्यवस्था गरिदिए। उनलाई त आफ्नै गाउँ प्रवेशमा समेत रोक लगाइयो। सुरुमा गाउँको प्रमुखले, त्यसपछि स्थानीय तहका कर्मचारीले र अन्तत: गाउँलेले पनि।
.jpeg)
आफ्नी श्रीमती र ३ छोरालाई हेर्ने चाह थियो उनको। त्यसैले एक मध्यरात झरीमा भिज्दै घर पुगे। परिवारलाई घर बाहिरै बोलाए। १५ मिनेट बिताए र श्रीमतीको हातमा केही रकम थमाइदिएर फर्किए।
‘म चाहन्न मेरा छोराहरू मजस्तै चिता जलाउने बनुन्। त्यसैले उनीहरूलाई स्कूल पठाउन चाहन्छु। धेरै पढुन्। असल मानिस बनुन्। समाजमा इज्जतदार जिन्दगी बाँचुन्,’ उनले भने, 'मैले जसरी आफ्नो परिवारलाई अध्यारोमा भेट्न नपरोस्।'
(1).jpeg)
राजधानी फर्कँदै गर्दा रामानन्द एक मन्दिरमा ओत लाग्न खोजेका थिए। त्यहाँबाट पनि लखेटिएको तीतो अनुभव साटे उनले।
उनी कोभिड-१९ को संक्रमणको त्रास र जोखिमबीच घाटमा पुगे। संक्रमणका कारण ज्यान गुमाउनेहरूप्रति सम्मान स्वरुप चिता जलाउँदैछन्। ‘म कोभिड-१९ कै कारण मर्न सक्छु तर अन्त्यसम्म आफ्नो जिम्मेवारीबाट भने पर भाग्दिनँ।’
