PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोभिड-१९ संक्रमितलाई एयर लिफ्ट : भाडा बिरामीले नै तिर्नुपर्ने, यस्ता छन् अरु मापदण्ड



विधुर ढकाल

कोभिड-१९ संक्रमितलाई एयर लिफ्ट : भाडा बिरामीले नै तिर्नुपर्ने, यस्ता छन् अरु मापदण्ड
फाइल फोटो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एयर लिफ्टिङसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड-१९ संक्रमितको थप उपचारका लागि एयर लिफ्टिङ गर्न सकिने जनाएको छ। तर, संक्रमितको थप उपचारका लागि एयर लिफ्ट गर्नुपरे एयर एम्बुलेन्स वापतको खर्च बिरामीका आफन्तले बेहोर्नुपर्ने छ।

त्यसका लागि मन्त्रालयले चार वटा मापदण्ड तयार गरेको छ। पहिलो एयर लिफ्टिङ प्रक्रिया, दोस्रो एयर लिफ्टिङ गर्ने साधनको छनौट, तेस्रो एयर लिफ्टिङका लागि आवश्यक स्वास्थ्यका पूर्वाधारहरु र आर्थिक ब्यवस्थापन छन्।

मन्त्रालयले जारी गरेको मापदण्डमा एयर लिफ्टिङ प्रक्रिया अन्तर्गत बिरामीको उपचाररत अस्पतालमा उपचार सम्भव नभएमात्र एयर लिफ्ट गर्नुपर्ने उलेल्ख छ। 'उपचाररत अस्पतालमा बिरामीको उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रूपमा प्रेषण गरेको हुनुपर्नेछ,' मापदण्डमा उल्लेख छ।

त्यतिमात्र नभई उपचार गर्ने अस्पतालमा उपचार गर्न सम्भव भएको एकिन गरेरमात्र एयर लिफ्ट गर्नुपर्ने छ। 'प्रेषण गरिएको अस्पतालमा विरामिको भर्ना गरि उपचार सम्भव भएको एकिन गरेरमात्र एयर लिफ्टिङ प्रकृया गर्नुपर्नेछ,' मापदण्डमा अगाडि भनिएको छ, 'विमान अवतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पुर्‍याउनका लागि मापदण्ड पुरा गरेका एम्बुलेन्सलाई अग्रिम निश्चित गरेको हुनुपर्नेछ। यसको व्यवस्थापन सम्बन्धित अस्पतालले गर्नुपर्नेछ।'

मापदण्डले गम्भिर प्रकृतिका कोभिड १९ बिरामीलाई मात्र एयर लिफ्टिङ गरिने र साधारण र मध्यम प्रकृतिका बिरामीलाई नगरिने ब्यवस्था गरेको छ।

त्यस्तै एयर लिफ्टिङ गर्दा जनस्वास्थ्यका मापदण्ड अपनाइ विमान (हवाइजहाज, हेलिकप्टर, एयर एम्बुलेन्स)लाई कोभिड १९ बिरामीहरूको ओसारपसार गर्न प्रयोग गर्न सकिने मापदण्डले ब्यवस्था गरेको छ।

सरकारले कोभिड-१९ बिरामीहरूलाई एयर लिफ्टिङ गर्न चाहने हवाइ/विमान कम्पनीहरूलाई मन्त्रालयले संक्षिप्त सूचना प्रकाशित गरी सूचिकृत गर्न सक्ने उल्लेख छ। त्यसका लागि मन्त्रालयले व्यवस्था गर्ने छ।

निजी कम्पनीले पनि एयर लिफ्ट गर्न सक्ने भए पनि नेपाल सरकार मातहातमा रहेको नेपाली सेनाबाट सञ्चालनमा आएका हवाइ/विमान साधनलाई पहिलो प्राथमिकता दिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको समन्वयमा जतिसक्दो छिटो बिरामीलाई एयर लिफ्टिङ गर्ने ब्यवस्था मिलाउनु पर्ने ब्यवस्थामा उल्लेख छ।

एयर लिफ्ट गर्दा विमानमा एक जना मेडिकल अफिसरसहित कम्तीमा २ जना स्वास्थ्यकर्मि अनिवार्य हुनु पर्ने व्यवस्था मन्त्रालयले गरेको छ। सोको ब्यवस्था सेवा प्रदान गर्ने कम्पनीले नै गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

विमानमा अक्सिजनका साथै लाइफ सेभिङ मेडिसिनहरू, पर्याप्तमात्रमा पिपिई, स्यानीटाइजर, डिसइन्फेक्टेन्टस् आदिजस्ता औषधि तथा औषधिजन्य सामाग्रीहरू अनिवार्य रूपमा उपलब्ध हुनुपर्ने उल्लेख छ।

विमान चालक दलका कर्मचारीहरू, स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तले अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अपनाउनु पर्नेछ।

'विमानबाट बिरामीलाई उतारी सकेपछि विमानलाई निसंक्रमण गरेर मात्र दोस्रो उडान भर्नु पर्दछ,' मापदण्डमा भनिएको छ।

यसरी बुकिङ गरेको विमानको भाडा बुकिङ गर्ने ब्यक्तिले दिनुपर्ने छ। 'एयर लिफ्टिङका लागि चार्टर गरेको विमानको भाडा भुक्तानीको जिम्मेवारी बुकिङ गर्ने व्यक्ति वा उसको हेरचाह गर्ने व्यक्ति वा संस्थाको हुनेछ,' मापदण्डमा भनिएको छ, 'चालक दलका कर्मचारी तथा चिकित्सक, स्वास्थ्यकर्मिहरूको विमा तथा जोखिम भत्ताको ब्यवस्था खटाएको निकायले नै गर्नु पर्नेछ।'

यसरी तिर्नु पर्ने भाडा तोकिएभन्दा बढी विमान कम्पनीले लिन भने पाउने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell