भारत केन्द्र सरकारले लकडाउन यता बन्द रहेका सिनेमाघरहरू खोल्ने अनुमति दिएको छ। गृह मन्त्रालयले अक्टोबर १५ देखि ५० प्रतिशत् अकुपेन्सीका साथ सञ्चालन गर्न अनुमति दिएको हो।
तर, भारतीय सिनेमा निर्माताहरूले भने डिजिटल माध्यममार्फत् नै फिल्म रिलिज घोषणा गरेका छन्। ९ वटा हिन्दी फिल्म अमेजन प्राइममा रिलिज हुने भएका हुन्। बलिउड हंगामाका अनुसार फरक भाषाका फिल्महरू सन् २०२० भित्र सार्वजनिक हुनेछन् र २ सयभन्दा बढी देशका दर्शकले हेर्न पाउँनेछन्।
राजकुमार राव र नुसरत् बरुचा स्टारर ‘छलाङ’ नोभेम्बर २३ देखि अमेजन प्राइममा उपलब्ध हुनेछ। फिल्मलाई हंसल मेहताले निर्देशन गरेका हुन्।
त्यस्तै भूमी पेड्नेकर अभिनित ‘दूर्गावती’ डिसेम्बर ११ मा रिलिज हुँदैछ। फिल्मलाई अशोकले निर्देशन गरेका हुन्।
प्रतिक्षित फिल्म ‘कुली नम्बर १’ डिसेम्बर २५ मा रिलिज हुनेछ। डेभिड धवन निर्देशित कमेडी फिल्ममा बरुण धवनको केन्द्रीय भूमिका छ।
यी लगायत तामिल, तेलुगु, कन्नाडा, मलायलम भाषाका फिल्महरू अमेजन प्राइममार्फत् रिलिज हुँदैछन्।
अमेजन प्राइम भिडियो इन्डियाका निर्देशक गौरव गान्धीले यस प्लाटफर्मले बलिउड लगायत अन्य भाषाका भारतीय सिनेमा बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। भनेका छन्,’हिन्दी भाषासँगै अन्य भाषाका फिल्मको व्यापक दर्शक भएको तथ्य हाम्रो प्ल्याटफर्मले पुष्टि गरेको छ।‘
भारतमा मार्च तेस्रो सातादेखि लकडाउन भएको हो। सिनेमाघरहरू भने मार्च १४ देखि नै ठप्प रहे। महाराष्ट्र सरकारले भने अक्टोबर ३१ अघि सिनेमाघर सञ्चालनमा नल्याउन निर्देशन दिएको छ। पश्चिम बंगालमा सुरक्षा मापदण्ड अपनाउँदै अक्टोबर १ देखिनै सिनेमा हल खुलेका छन्।
