इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले राजस्थानलाई ४६ रन हराएको हो।
१८५ रनको लक्ष्य पछ्याएको राजस्थान दुई बल बाँकी छँदा अलआउट हुँदै १३८ रनमा समेटियो।
राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक ३८ रन जोड्दा यशस्वी जयसवालले ३४ तथा स्टिभन स्मिथले २४ र जोस बट्लरले १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।
दिल्लीलाई जिताउन कगिसो रबाडाले ३, रविचन्द्रन अश्विन र मार्कस स्टोइनिसले २/२ तथा आनरिच नोर्टजे, हर्शल पटेल र अक्षर पटेलले १/१ लिए।
यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
दिल्लीकोको ब्याटिङ लाइन सुरुमा राम्रो जम्न सकेन। शिखर धवन ५ रन बनाएर पभेलियन फर्किँदा अर्को ओपनर पृथ्बी श ले १९ रन जोडे। त्यस्तै, कप्तान श्रेयस ऐय्यर २२ रनमा रनआउट हुँदा अर्का महत्वपूर्ण ब्याट्सम्यान ऋषभ पन्त ५ रनमै रनआउट भए।
दिल्लीको खस्कँदो ब्याटिङलाई शिमरोन हेटमायर र मार्कस स्टोइनिसले सम्हालेका थिए। हिटमायरले सर्वाधिक ४५ रन जोडदा स्टोइनिसले ३९ रन बनाए। त्यस्तै, अक्षर पटेलले १७ र हर्षल पटेलले १६ रन जोडे।
उता राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिँदा कार्तिक त्यागी, एन्ड्र्यु टाइ र राहुल तेवतियाले १/१ विकेट लिए।
