PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

साइलेन्ट निमोनियाले लिँदैछ लक्षणविहीन कोरोना संक्रमितको ज्यान



फूलमाया पुरी

साइलेन्ट निमोनियाले लिँदैछ लक्षणविहीन कोरोना संक्रमितको ज्यान

विराटनगरः मोरङको बुढीगंगा गाउँपालिकास्थित छ विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल। जहाँ कोभिड र नन कोभिड दुवै बिरामीको उपचार हुन्छ।

अस्पतालको गेटबाट प्रवेश गर्नसाथ हेल्प डेस्कमा सम्पर्क हुन्छ। सबै किसिमका बिरामी पहिलो पटक त्यहीँ ठोकिन पुग्छन्। के का लागि उपचार गर्न आएको नाम दर्ता गराउँछन्।

कोरोना देखिन थालेपछि गत चैतबाट विराटले डेस्क स्थापना गरेको डेस्कमा खटिएकी स्वास्थ्यकर्मी सरिता घिमिरे बताउँछिन्। डेस्कले नै कुन बिरामीलाई कता पठाउने निधो गर्छ। कसैलाई ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या छ भने अस्पतालको अवजर्भेसन वार्डमा पठाउने गरिन्छ। कोरोना भाइरस परीक्षणका लागि भए सोही अनुसार सूचित गर्ने गरिन्छ।

+++

घिमिरेले शिशु बोकेर आएकी एक महिलालाई ‘बच्चालाई यसअघि ज्वरो त आएको थिएन नि?’ भन्दै सोधिन् र थर्मल गनले ज्वरो नापिन्।

‘फिभर हुने बित्तिकै त कोरोना भयो भन्न मिलेन नि त अहिले डेङ्गु र मौसमी ज्वरोका बिरामी पनि बढिरहेको छ’, घिमिरेले भनिन् ‘तर पनि जोखिम धेरै छ कोही त पीसीआर रिपोर्ट नै बोकेर आउनुहुन्छ। यहाँ हामीले हेरेपछि मात्र आफू संक्रमित भएको जानकारी पाएँ भन्नुहुन्छ।’

संक्रमित आफैँ असुरक्षित रूपले अस्पताल आउँदा थप जोखिम हुने उनको भनाइ छ।

+++

अस्पतालले एक महिनाअघि गत भदौबाट सञ्चालनमा ल्याएको कोभिड आइसोलेसन। जहाँ १३६ जना संक्रमित उपचाररत रहेको आइसोलेसन वार्डका इञ्चार्ज सुनिल देवले जानकारी दिए।

देवका अनुसार १७ बेड क्षमताको आइसियु आइसोलेसन पनि पूर्ण रूपमा संक्रमितले भरिएको उनी बताउँछन्।

सरकारले तत्काल थप आइसियुको व्यवस्था नगरे संक्रमितको मृत्यु हुने संख्या अझ बढ्ने उनको भनाइ छ।

‘अस्पतालले आफ्नो क्षमता अनुसार सकेसम्म उपचारमा कुनै कसर छाडेको छैन,’ उनले भने, ‘तर अहिले नै भेन्टिलेटर र आइसियुको अभावले बिरामीहरूको मृत्यु भइरहेको छ तत्काल नथपे झनै गाह्रो हुन्छ।’

त्यसो त अस्पतालकै ३८ भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएका छन्। अहिले पनि १२ जना कोभिड आइसोलेसनमा उपचाररत रहेको देवले बताए।

+++

सरकारले योजनाविहीन रूपमा गरेको लकडाउनले कोरोना तत्काल फैलनमात्र रोकेको अस्पतालको कोभिड आइसोलेसनमा खटिएका डा.पुरु कोइराला बताउँछन्।

‘लकडाउन र निषेधाज्ञाले कोरोना महामारीलाई रोक्न सक्दैन’ डा.पुरुले भने ‘यसले तीव्र गतिमा तत्काल फैलिन नदिएको मात्र हो।’

कोरोना समुदाय स्तरमा फैलँदा जोखिमपूर्ण क्षेत्र मध्येको एक हो अस्पताल। स्वास्थ्यकर्मी समेत संक्रमित भएपछि थप जोखिम हुने डा. कोइरालाको भनाइ छ।

‘अस्पतालका अधिकांश स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भइरहेका छन्,’ उनले भने, ‘उपचारका लागि आउने बिरामीहरूमा पनि को कहाँबाट संक्रमित भइरहेको हुन्छ थाहा हुन्न।’

तर, उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि पछिल्लो स्थितिमा स्वास्थ्यकर्मीबाट नै संक्रमणको भयावह स्थिति भएको उनको बुझाइ छ।

‘व्यस्त बजारमा पनि मानिस एक किसिमको मानसिक रूपमा तयार भएर हिँडेको देखिन्छ। तर अस्पताल निकै जोखिमपूर्ण क्षेत्र बन्दै गएको छ’, डा.कोइरालाले भने।

डा. कोइरालाका अनुसार विराटमा दैनिक दुईदेखि तीन सय जनासम्म बिरामी मेडिसिन विभागमा दर्ता हुन्छन्। जसमा ७० देखि ८० प्रतिशतमा सामान्यतया ज्वरो रुघाखोकी श्वास-प्रश्वासमा समस्या थकान लाग्ने खालका बिरामी आउने गरेको पाइन्छ। ती सबैको पीसीआर परीक्षण गरिन्छ।

यता ओपिडीमा आउने बिरामीमध्ये दैनिक ५ देखि १० जनामा कोरोना पोजेटिभ देखिने गरेको छ। जो आफैँ हिँडेर अस्पतालसम्म आएका हुन्छन्।

त्यसो त कतिपय पोजेटिभ रिपोर्ट लिएर नै अस्पताल आइपुग्ने पनि छन्।

+++

पछिल्लो एक महिनादेखि अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन आउने ९५ प्रतिशत बिरामी ज्वरो र निमोनियाका रहेको डा. कोइराला बताउँछन्। कोही व्यक्तिलाई कोरोना समेत संक्रमण भएमा उपचारका क्रममा निमोनियाले नै ज्यानै जान सक्ने उनको भनाइ छ।

कोभिड १९ निमोनिया मानिसका लागि अत्यन्तै जोखिम भएको उनको भनाइ छ।

दीर्घ रोग भएका बिरामीलाई संक्रमण देखिने बित्तिकै कोरोनाले बढी च्याप्ने र दीर्घ रोग नभएकालाई कम जोखिम भन्ने भ्रममा नपर्न पनि डा. कोइरालाको सुझाव छ।

‘जस्तै मिर्गौला पीडित सुगर, प्रेसर र क्यान्सरका बिरामीलाई कोरोना लागे ठूलै खतरा हुने र स्वास्थ्य अवस्था सामान्य भएकालाई नहुने भन्ने अहिले पनि गलत बुझाइ छ,’ उनले भने, ‘यहाँ छ वर्षको बालकको पनि मृत्यु भएको छ भने ९० वर्षीय आमाले पनि कोरोना जितेको अवस्था छ।’

कोरोनाका दुई पाटा

डा. कोइराला सात महिनादेखि कोरोनाको उपचारमा खटिएका छन्। मृत्युदर बढ्नुमा उनी दुई कारण मुख्य रहेको बताउँछन्।

डा. कोइरालाका अनुसार कोरोना संक्रमण भइसकेको छ भने अत्यन्तै छोटो समयमा च्याप्ने भनेको साइलेन्ट निमोनियाले हो। जसमा ज्वरो आउने छाती दुख्ने र कहिलेकाहीँ श्वास-प्रश्वासमा समस्या देखिन्छ।

साइलेन्ट निमोनियाले एकै पटक फोक्सोको दायाँ-बायाँ खराब गर्दछ। यो केही घण्टाभित्रै देखिने लक्षण हुन्छ। जुन समय बिरामीलाई श्वास-प्रश्वासमा कठिन हुने, अक्सिजनको मात्रा अत्यन्तै कम हुने र बिरामी आफैँले आफूलाई के भइरहेको छ थाहा पाउन सकिरहेको हुँदैन।

त्यस्तै अर्को पोस्ट कोभिड सिम्पटम्स हो। जुन एक पटक संक्रमित भइसकेपछि रिपोर्ट नेगेटिभ आएको अवस्थामा पनि थकान लाग्ने हुन्छ। जुन लामो समयसम्म नै रहने उनको भनाइ छ।

समुदाय स्तरमै फैलिएको कोरोना संक्रमणबाट बच्न व्यक्तिले सकेसम्म एक-अर्कामा भौतिक दूरी कायम गर्नु र स्वास्थ्य सुरक्षामा ध्यान दिनु उचित हुने स्वास्थ्यकर्मी सुझाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell