अमेरिकाका भाइरस विज्ञ डक्टर एन्थोनी फौसीले ह्वाइट हाउसले गएको महिना ठूला भेला गरेर कोरोना भाइरस फैलाउन मद्दत पुर्याएको भन्दै कडा आलोचना गरेका छन्।
ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका उनले राष्ट्रपति ट्रम्पले त्यहाँको सर्वोच्च न्यायालयमा न्यायाधीशको नाम सार्वजनिक गर्दा आयोजित कार्यक्रम सुपर स्प्रेडर घटना हुन पुगेको खुलासा गरेका हुन्।
त्यस समारोहमा सहभागी भएको दर्जनौ मानिसहरुमा कोरोना भाइरस संक्रमण देखिएको छ।
हालैमात्र ट्रम्पका चिकित्सकले उनलाई सार्वजनिक समारोहमा समेत जान सक्ने भएको बताएका छन्। राष्ट्रपति आफैँ कोभिड १९ को संक्रमणमा परेका थिए।
तीन रात सैनिक अस्पतालमा बसेर ट्रम्प ह्वाइट हाउस फर्किएका हुन्।
'तथ्याङ्कलेआफैँ बोल्छ - हामीले ह्वाइट हाउसमा सुपरस्प्रेडर कार्यक्रम आयोजना गरौं जहाँ मानिसहरुको भिड थियो जसले मास्कसमेत लगाएका थिएनन्,' उनले भनेका छन्।
पछिल्लो ६ महिनामा विज्ञहरुले मास्क लगाउन भनिरहेको भएपनि ट्रम्पले त्यसको निन्दा गर्दै आएका थिए। त्यहाँको सर्वोच्च न्यायालयका एक न्यायाधीशको मृत्यु भएपछि ट्रम्पले एमी कोनए ब्रेटलाई न्यायाधीश मनोनित गरेका थिए। त्यसैको अवसरमा कार्यक्रम भएको थियो। त्यहाँ सहभागी धेरैमा संक्रमण देखिएको थियो।
