काठमाडौं : चिकित्सकहरुको एउटा समूहले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि गम्भीर हुन आग्रह गरेको छ।
देशका चर्चित १० चिकित्सकहरुले जीवन रक्षाका लागि अपील जारी गर्दै सरकार र डाक्टर गोविन्द केसी पक्षधरसँग वार्ता गर्दा उनको जीवन रक्षालाई प्रमुख दायित्वका साथ लिन आग्रह गरेका छन्।
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर केदारनरसिंह केसीले १० जना चिकित्सकका तर्फबाट अपिल जारी गरेका हुन्। अपील नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, पूर्व स्वास्थ्य राज्यमन्त्री भरत प्रधान, पूर्व राजदूत रहेका डाक्टर महेश मास्के, डाक्टर चोपलाल भुषाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकूलपति डाक्टर अर्जुन कार्की, चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, डाक्टर मुक्तिराम श्रेष्ठ, समाजिक अभियान्ता समेत रहेका डाक्टर सरोज धितालसहितले जारी गरेका हुन्।
गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका सम्बन्धमा डा. गोविन्द के.सी. ले पटक–पटक आमरण अनसन बसी नेपाल सरकार समक्ष विगतमा १८ औं पटक सम्म सम्झौता गरेको व्यहोरा स्मरण गराउँदै पूर्ववत सम्झौताको भावना र मर्म अनुरुप नेपाल सरकारको तर्फबाट स्वामित्व ग्रहण गरेका जायज मागहरुको कार्यान्वयनका लागि डाक्टर केसी अनसनमा बसेको उल्लेख छ। उनी अनशन बसेको आज २७ औं दिन हो।
'उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टीकोणले अत्यन्तैं गम्भिर मोडमा पुगेको र कुनै पनि समय दुर्घटना निम्तिन सक्ने विषम पूर्ण परिस्थितिलाई नेपाल सरकारले गम्भिरता पूर्वक लिन र सम्माननीय प्रधानमन्त्रीज्यूले सकारात्मक दृष्टिकोण राखी यथासक्य निचोडमा पुर्याउने वातावरण तयार गर्न तपसिलका चिकित्सकहरु हार्दिक अपिल गर्दछौं,' अपिलमा भनिएको छ, 'हाल भइरहेको वार्तालाई जिम्मेवार, प्रभावकारी र ठोस निर्णयमा पुर्याउनका निमित्त अपनाउनुपर्ने संवेदनशीलतालाई सुक्ष्म रुपमा मनन गरी डाक्टर केसीको जीवन रक्षा गर्ने प्रमुख दायित्वप्रति वार्ता समूह गम्भिर हुन हामी गर्दछौं।'
