अर्घाखाँची : सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा एकै घर परिवारका आठ जनामा कोरोना संक्रमण भएको छ।
शीतगङ्गा नगरपालिका-७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका पुरुषको परिवारका आठ जनामा कोरोना देखिएको हो। उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको उनले बताए।
यससँगै शनिवार जिल्लामा थप ३४ जना कोरोना संक्रमित बिरामी थपिएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए। यससँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४८६ पुगेको छ। सक्रिय संक्रमितको संख्या ९० रहेको छ। कोरोनाका संक्रमणबाट चार जनाको ज्यान गएको छ।
बेलझुण्डी अस्पतालमा एक संक्रमितको मृत्यु
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीका अनुसार रुपन्देहीको तिलोतमा नगरपालिका वडा नम्बर ३ निवासी ६६ वर्षीया महिलाको शनिवार बिहान मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा असोज २२ गते कोरोना पोजिटिभ देखिएकी उनलाई बुटवलमा आइसीयू खाली नभएपछि उपचारका लागि शुक्रवार दाङ ल्याइएको थियो।
मृतक महिलालाई लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको थियो। उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको छ।