काठमाडौँः नेपाल चिकित्सक संघले आइतबार (भोलि) देशभरका सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उदेश्यले आकस्मिक सेवा बहिस्कारको निर्णय गरिएको हो।
संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको महासचिव डा. बद्री रिजालले जानकारी दिए।
डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएकाले सेवा बन्द गर्न बाध्य भएको रिजालको भनाइ छ। सरकारले वार्तालाई औपचारिकतामा मात्रै सीमित गरेको आरोप संघको छ।
आइतबारसम्म सत्याग्रहको अन्त्य गराउने गरी सरकार प्रस्तुत नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने महासचिव रिजालले बताए। आन्दोलनको कार्यक्रमलाई कार्यान्वयन गर्न संघले सम्पूर्ण शाखा कार्यालय, नेपालभरका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अपिल पनि गरेको छ।
आन्दोदनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने पनि संघको धारणा छ।
डा. केसी २७औँ दिनदेखि अनशनरत छन्।
