वालिङ : स्याङ्जाको वालिङ-१४ तमादीको पहिरोमा परी मृत्यु भएकाका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ।
यही असोज ८ गते तमादीस्थित माया नेपालीको घरभन्दा माथिबाट आएको पहिरोमा पुरिएर एकै घरका नौ जनाको मृत्यु भएको थियो। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले शनिवार तमादी गएर पहिरोमा परी मृत्यु भएका नौ जनाका परिवारलाई राहतस्वरुप चार लाख पचास हजार रुपैयाँ उपलब्ध गराएका हुन्।
सो अवसरमा उनले गण्डकी प्रदेश सरकारले प्राकृतिक विपदमा परेर मृत्यु हुनेका परिवारलाई जनही पचास हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउँदै आएको बताउँदै सोही अनुरुप पहिरोमा परी ज्यान गुमाउने नौ जनाको परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराएको जानकारी दिए।
‘पहिरोमा पुरिएर घरसहित एकै परिवारका नौ जनाको ज्यान गएको छ’, उनले भने, ‘घरबारविहीन भएका परिवारलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्छ।’
गण्डकी प्रदेश विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले अविरल वर्षाका कारण स्याङ्जामा धेरै जनधनको क्षति भएको बताउँदै विपदमा परेकाको व्यवस्थापनका लागि तीनवटै तहका सरकारबीच आवश्यक सहयोग र समन्वय हुनुपर्ने बताए।
वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले पहिरोले घरबास गुमाएका परिवारलाई सुरक्षित स्थानान्तरणका लागि स्थानीय सरकार लागिपरेको बताउँदै तमादीका स्थानीयवासीलाई सुरक्षित स्थानमा जग्गा खोजी गरी उपलब्ध गराउन आग्रह गरेको र जग्गा उपलब्ध हुनासाथ घर निर्माण कार्य थाल्ने बताए।