PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

अस्पतालका कुनै पनि सेवा बन्द नहुने, चिकित्सक संघले लियो आन्दोलन फिर्ता, केसीले आज अनशन तोड्दै



पहिलोपोस्ट

अस्पतालका कुनै पनि सेवा बन्द नहुने, चिकित्सक संघले लियो आन्दोलन फिर्ता, केसीले आज अनशन तोड्दै

काठमाडौं : मध्यरातमा सरकारी वार्ता टोली र अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको टोलीबीच सम्झौता भएपछि नेपाल चिकित्सक संघले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रम स्थगित भएको छ। डाक्टर केसीले आज अनशन तोड्दैछन्। 

डाक्टर केसी १९ औं आमरण अनशनमा थिए। असोज २४ गते राती सरकार र केसीबीच सम्झौता भएकाले सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको विज्ञप्ति जारी गर्दै संघले जनाएको छ।

संघले आयोजना गरेको आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद समेत दिइएको छ।

हिजो राति  डाक्टर केसीपक्ष र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो। 

नेपाल चिकित्सक संघले आजबाट देशभरका सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो। चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उदेश्यले आकस्मिक सेवा बहिस्कारको निर्णय गरिएको हो।

यसले केसीका मागलाई सम्बोधन गर्न सरकारलाई थप दवाव सिर्जना गरेको थियो। डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएकाले सेवा बन्द गर्न बाध्य भएको भन्दै संघले सरकारले वार्तालाई औपचारिकतामा मात्रै सीमित गरेको आरोप लगाएको थियो।

आइतबारसम्म सत्याग्रहको अन्त्य गराउने गरी सरकार प्रस्तुत नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने तयारीमा रहेको संघले आज बिहानै प्रेस विज्ञप्ति जारी गरेर आन्दोलनका सबै कार्यक्रम स्थगितको घोषणा गरेको हो। 

मध्यरातमा भएको सहमतिसँगै आज प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन तोड्दैछन्। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell