काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकालेको छ।
कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते (बुधवार) कांग्रेसका जनप्रतिनिधिको टोली स्थलगत अध्ययनमा गएको थियो। १० दिनको अध्ययनपछि शनिवार साँझ सदरमुकाम सिमिकोट आइपुगेको टोलीका नेता शाहीले निरीक्षणका क्रममा ठाउँ ठाउँमा चीनले भूमि मिचेको देखिएको बताए।
'हाम्रो सीमा मिचिएको छ। ६ र ५ नम्बर पिल्लरमा गडबड छ। १२ नम्बर पिल्लर पनि नयाँ छ,' उनले टेलिफोनमा भने, 'यो नालायक सरकार हो मा हो मिलाइरहेको छ। हामी प्रमाणसहित विहान प्रतिवेदन सार्वजनिक गर्छौं।'
उनले जीपीएस प्रणाली नै परिवर्तन गरेर प्राविधिक रुपमा समेत जमिन हडप्न खोजिएको बताए। 'हाम्रो निष्कर्ष सीमा मिचिएको छ। चीनसँग कुटनीतिक वार्ताको विकल्प छैन,' उनले भने।
कांग्रेसकी प्रतिनिधिसभा सदस्य रंगमती शाहीले पनि आफूहरुको निष्कर्ष भूमि मिचिएकै भएको बताइन्। 'सीमामा धेरै समस्या देखिएको छ। पिल्लरहरु ठाउँमा सद्दे छैन। नेपाली भूमिमा चिनियाँ रजाई देखियो,' उनले भनिन्, 'प्रतिवेदनमार्फत एक एक तथ्य सार्वजनिक हुन्छ।'
टोलीमा रहेका नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले चिनियाँले भवन बनाएको भूमि नेपालमै पर्ने बताए।
'५ र ६ नम्बर पिल्लरमा तलमाथि देखियो। केरबार गरेको पाइयो। पुरानो तोडफोड गरेर १२ नम्बर पिल्लर नयाँ छ। सीमा मिचेर भवनहरु बनाइएको देखियो,' उनले भने, 'हाम्रो टिमले एक एक तथ्य संकलन गरेको छ। ११ नम्बर भने पुरानै पाइयो।'
नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीस्थित लाप्चा क्षेत्रमा चिनियाँ पक्षले भवन बनाएपछि दुई देशबीच सीमा विवाद देखिएको छ। ललुङजङमा चीनले ९ वटा भवन बनाएपछि जिल्लास्थित सिडिओसहित सुरक्षा टोलीले स्थलगत अवलोकन गरेर उक्त भूमि चीनकै भएको निष्कर्ष निकालेको थियो। चिनियाँ दूतावास र केन्द्र सरकारले पनि उक्त भूमि चीनकै भएको बताउँदै आएको छ। गाउँपालिका अध्यक्ष र नेकपा सांसदको टोलीले पनि उक्त भूमि चीनकै भएको निष्कर्ष निकाल्दै रक्षामन्त्री र परराष्ट्र मन्त्रीलाई ब्रिफिङ गरिसकेको छ।
तर कांग्रेसले भने सबैभन्दा फरक भूमि मिचिएको दाबी गरेको छ। भूमि मिचिएको निष्कर्षसहित आज स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछ।