PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

श्रमिकहरुको पक्षमा डटेर संघर्ष गर्न समाजवादी ट्रेड युनियन महासंघलाई उपेन्द्र यादवको निर्देशन



पहिलोपोस्ट

श्रमिकहरुको पक्षमा डटेर संघर्ष गर्न समाजवादी ट्रेड युनियन महासंघलाई उपेन्द्र यादवको निर्देशन

काठमाडौं: जनता समाजवादी पार्टी नेपालको जनवर्गीय संगठन समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडरेसनबीच एकता समायोजन भएको छ।

कार्यक्रममा नेपाल ट्रेड युनियन फेडरेशनका सह–अध्यक्ष नारायण थापाको नेतृत्वमा सयौ श्रमिकहरु समाजवादी ट्रेड युनियन महासंघमा समाहित भएका हुन्। जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले ट्रेड युनियन फेडरेशनका नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए।

एकता समायोजन कार्यक्रममा जसपा अध्यक्ष यादवसहित शीर्ष नेताहरु राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी र रकम चेम्जोङ्ग लगायतको उपस्थिति थियो। कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले अबको वैकल्पिक श्रमिकहरुको शक्ति समाजवादी ट्रेड युनियन महासंघ बन्ने निश्चित रहेको भन्दै व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर श्रमिकहरुको पक्षमा डटेर संघर्ष गर्न निर्देशन दिए।

जसपा नेता राजेन्द्र प्रसाद श्रेष्ठले समुन्नत समाजवाद स्थापनाका लागि श्रमिकहरुको मुख्य भूमिका रहने भन्दै जसपा श्रमिकका पक्षमा सधै साथमा रहने बताए। यसैगरी जसपाका नेता नवराज सुवेदी, रकम चेम्जोङ्गले ठूला भनिएका पार्टीसँग नजिक रहेका ट्रेड युनियनहरुले मजदुरको नाममा लुट मचाएको भन्दै समाजवादी ट्रेड युनियन महासंघ श्रमिकहरुको पक्षमा इमान्दारीपूर्वक लड्ने संगठन भएको बताए।

समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङले महासंघमा प्रवेश गरेकाहरुलाई पूर्व पार्टीको हैसियत, योगदान, कार्यक्षमता, दक्षता क्रियाशीलताको आधारमा मुल्यांकन गरी पार्टी तथा महासंघका विभिन्न समिति, विभाग, तथा भूगोलमा जिम्मेवारी दिने बताए।

पूर्वनेपाल ट्रेड युनियन फेडरेशनका सह–अध्यक्ष नारायण थापाले समुन्नत समाजवाद स्थापनाका लागि श्रमिकहरु एकजुट हुनुको विकल्प नरहेको भन्दै जसपा तथा महासंघले श्रमिकका मुद्धालाई गम्भीरतापूर्वक लिनेमा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा दुई ट्रेड युनियन महासंघबीचमा भएको एकताको सहमतिपत्र समाजवादी महासंघका उपाध्यक्ष अर्जुन लम्सालले वाचन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष विष्णु प्रसाद पौडेलले राखेका थिए। कार्यक्रमको सञ्चालन महासंघका महासचिव डी.वी. सरोज राईले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell