PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मोरङका ४५ जनासहित प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो



फूलमाया पुरी

मोरङका ४५ जनासहित प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो

विराटनगर : प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ।

गत साउन १४ गते प्रदेश १ मा मोरङको सुनवर्षी नगरपालिकामा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष रहेका छन्। जसमा स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा सरोज विसालले जानकारी दिए।

संयोजक डा विसालका अनुसार प्रदेश १ को मोरङका सबैभन्दा बढी ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, सुनसरीका २९ जनाले पनि कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। त्यसैगरी, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १/१ जनाको मृत्यु भएको पनि उनले बताए।

हालसम्म प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म १ लाख ३७ हजार ५ सय १७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १० हजार ३ सय जनामा कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell