काठमाडौँः गैरकानुनी रुपमा विदेशी मुद्रा विदेश पठाएको अभियोगमा राजस्व अनुसन्धान विभागले झण्डै दुई अर्ब बिगो दाबी गर्दै हाइटेक इन्टरनेशनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ। भन्सार चोरी पैठारी गरेको मालबस्तुको भुक्तानीका लागि रकम विदेश पठाएको दाबी विभागको अभियोग पत्रमा छ।
विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। प्रतिवादी श्रेष्ठसँग एक अर्ब ७१ करोड ५६ लाख २८ हजार १११ रुपैयाँ बिगो दाबी गरिएको छ।
विभागले प्रतिवादीसँग बिगो असुल गरी तीन गुणासम्म जरिवाना र तीन वर्ष कैद दाबी गरेको छ।
विभागले भन्सारबाट मालवस्तु पैठारी गर्दा लुकाई छिपाई ल्याएको, यथार्थ कारोबार नदेखाई नदेखाएको अभियोग पनि प्रतिवादीमाथि लगाएको छ। वास्तविक कारोबार लुकाएर राजस्व चुहावट गरेको पनि अभियोगमा उल्लेख छ।
चोरी पैठारी गरिएको मालबस्तुको भुक्तानीका लागि स्वीकृति नलिइ विदेशी विनिमय अपचलन गरेको आरोप पनि प्रतिवादीलाई लगाइएको छ।
