PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालनका लागि मन्त्रालय र नगरपालिकाबीच सम्झौता



फूलमाया पुरी

सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालनका लागि मन्त्रालय र नगरपालिकाबीच सम्झौता

विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालयले धनकुटाका शिक्षकका लागि सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्न सम्झौता गरेको छ। विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित उक्त तालिम सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ।

शिक्षण सिकाई क्रियाकलाप र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि सञ्चालन हुनेछ। त्यसैले आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षासम्बन्धी शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालनका लागि मन्त्रालयले धनकुटा नगरपालिकासँग सम्झौता गरेको हो।

सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालनका लागि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीबीच सम्झौता भएको छ।

त्यसो त यसअघि नै मन्त्रालयले इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरंगको सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिकामा सम्झौता गरिसकेको छ। त्यस्तै, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग पनि सूचना प्रविधिसम्बन्धी तालिमका लागि गरिसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले गत असोज १५ गतेदेखि पहिलो चरणको तालिम शुरु गरेको छ।

मन्त्रालय मातहतका कार्यालयको अनुगमन

सूचना प्रविधि तालिम सञ्चालका लागि सम्झौता गरेसँगै प्रदेश १ को सामाजिक विकास मन्त्रालयले धनकुटामा मन्त्रालय मातहतका कार्यालयहरुको पनि अनुगमन गरेको छ। शुक्रवार र आइतवार गरी आधा दर्जन बढी कार्यालयको अनुगमन गरिएको हो।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको टोलीले प्रदेश संग्राहलय, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, शिक्षा विकास निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र लगायतको अनुगमन गरेका हुन्।

मन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन गर्दै सचिव कार्कीले विभिन्न जानकारीहरु लिएको बताइएको छ। त्यस्तै, सचिव कार्कीले धनकुटा औद्योगिक ग्राम परिसरमा निर्माण गरिएको २० बेड क्षमताको आइसोलेसन केन्द्रको पनि अनुगमन गरेका छन्। उक्त आइसोलेसन केन्द्रमा लक्षण सहितका संक्रमितहरुलाई राख्ने गरिएको मन्त्रालयले जनाएको छ।

पोषणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम

प्रदेश १ सामाजिक विकास मन्त्रालयले धनकुटामा प्रदेशभरका १४ वटै जिल्लाका स्वास्थ्य कार्यालयका कर्मचारीहरुलाई पोषणसम्बन्धी ७ दिने प्रशिक्षक तालिम दिएको मन्त्रालयले जनाएको छ। उक्त तालिममा सहभागी स्वास्थ्य कार्यालयका कर्मचारीले स्थानीय तहका स्वास्थ्य प्रतिनिधिलाई पोषणसम्बन्धी तालिम दिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell