PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कर्णालीको मुख्यमन्त्री शाहीविरुद्धको प्रस्ताव फिर्ता गराउन ओलीलाई प्रचण्डको आग्रह, बालुवाटार अघि खुमलटारमा नेपालसहितका नेताको भेला



कुञ्जरमणि भट्टराई

कर्णालीको मुख्यमन्त्री शाहीविरुद्धको प्रस्ताव फिर्ता गराउन ओलीलाई प्रचण्डको आग्रह, बालुवाटार अघि खुमलटारमा नेपालसहितका नेताको भेला

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध आएको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको छ।

सोमबार बिहान बालुवाटारमा भएको छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई उक्त प्रस्ताव फिर्ता गराउन आग्रह गरेका हुन्।

आइतवार नेकपाकै १८ सांसदले शाहीविरुद्ध संसदीय दलमा बुझाएको अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

भेटमा प्रचण्डले शाहीविरुद्धको अविश्वासको प्रस्ताव पार्टी एकता र स्थायी कमिटी बैठकको निर्णयको मर्म विपरित भएको भन्दै यसलाई सच्याउनुपर्ने बताएका थिए।

'कर्णाली प्रदेशमा जे भयो यो पार्टी एकता र स्थायी कमिटी बैठकको निर्णयको मर्मविपरित भयो। अहिलेको अवस्थामा बेठिक भयो। यो कुरालाई मिलाएर लैजानुस्,' प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो।

भेटमा ओलीले अप्रत्यक्ष रुपमा आफैंले गर्न लगाएको स्वीकारेका छन्। 'हस्ताक्षर गर्ने सांसदहरुले पनि प्रधानमन्त्रीले नै लगाएको भनेर स्वीकार गरिसकेका छन्। प्रधानमन्त्रीले सोझै त भन्नुभएको छैन। तर, अप्रत्यक्ष रुपमा आफैंले गरेको स्वीकारनुभएको छ,' खुमलटार निकट एक नेताले भने।

बालुवाटारअघि खुमलटारमा भेला

अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुअघि आफ्नो निवास खुमलटारमा वरिष्ठ नेता माधकुमार नेपाल, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा,युवराज ज्ञवाली लगातयतका नेताहरुबीच छलफल भएको थियो।

छलफलमा सहभागी एक नेताले भने, 'पार्टी स्थायी कमिटीले सहमति गरेर अघि बढ्ने निर्णय गर्‍यो। प्रधानमन्त्री ओलीकै राजीनामा मागिए पनि त्यसलाई अघि बढाइएन। पार्टी संस्थागत निर्णयका आधारमा चल्ने सहमति भयो। तर पार्टी निर्णयको मसी सुक्न नपाउँदै अहिले कर्णालीका मुख्यमन्त्री विरुद्ध जे भयो गलत भयो,' उनी भन्छन्।

त्यस्तै केन्द्रीय मन्त्रिमण्डल पुनर्गठनको कुरा सुन्न नपाउँदै प्रदेशमा समस्या निम्त्याएर पार्टीलाई विभाजनर्फ धकेल्न खोजिएको उनको भनाइ छ।

'एकीकृत पार्टीलाई विभाजन गर्ने, सहमतिको आधार भत्काउने गरी अचानक हस्ताक्षर अभियान चल्छ भने यसले त्यहाँ मात्रै होइन देशभरी नै भद्रगोल निम्त्याउँछ। संकटको अवस्थामा जसले खेले पनि यस्तो खेल खेल्न हुँदैन। दुई अध्यक्षले छलफल गरेर सचिवालयमार्फत् यी कुरा समाधान गर्नुपर्छ भन्ने कुरा भएको छ,' ती नेताले सुनाए।

आइतवार संसदीय दलमा दर्ता गरिएको पत्रमा पूर्व एमालेबाट प्रतिनिधित्व गर्ने १५ र पूर्व माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने ३ सदस्यले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर गर्नेमा पूर्व माओवादी केन्द्रबाट समानुपातिक सदस्यमा मनोनित सदस्य तथा उपसभामुख पुष्पा घर्ती विष्ट, सुर्खेत १ ख बाट विजयी माओवादी केन्द्रकै ठम्मरबहादुर विष्ट तथा दैलेख १ क का सदस्य धर्मराज रेग्मी छन्।

बाँकी १५ सदस्यमध्ये तत्कालिन नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित ८ र सात समानुपातिक सदस्य छन्।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा ओली निकटका ८ र नेपाल निकटका ७ सदस्य छन्। ओली निकटका यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि खुमलटारमा असन्तुष्टि बढेको हो।

कर्णाली प्रदेशका नेकपाका सहइञ्चार्ज समेत रहेका कँडेलले यसअघि पनि उनले दुई पटक मुख्यमन्त्रीविरुद्ध प्रस्ताव दर्ताको प्रयास गरेका थिए। केन्द्रले त्यसलाई रोकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell