PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुनसरीका दुई संक्रमितको मृत्यु, अस्पतालमा संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो



फूलमाया पुरी

सुनसरीका दुई संक्रमितको मृत्यु, अस्पतालमा संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो

विराटनगर: कोरोना संक्रमणबाट सुनसरीका दुई जनाको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालको कोभिड आइसोलेसनमा उपचाररत सुनसरीका संक्रमित दुई पुरुषको मृत्यु भएको हो।

अस्पतालको कोभिड आइसोलेसन आइसीयू र भेण्टिलेटरमा उपचाररत दुवैको सोमवार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

दाहालका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ९० वर्षीय वृद्धको मृत्यु भएको छ। भेण्टिलेटरमा उपचाररत ती वृद्धको आज बिहान करिब १० बजे मृत्यु भएको उनले बताए।

गत असोज २३ गते अस्पताल भर्ना भएका ती वृद्ध विराटनगरकै कोशी अस्पतालबाट रेफर भई नोबेल अस्पताल भर्ना भएको अस्पतालका सामाजिक इकाइ शाखा प्रमुख दिपेश न्यौपानेले बताए।

श्वासप्रश्वासको समस्या भइ थप उपचारका लागि भर्ना भएका ती वृद्धमा उच्च रक्तचाप र मधुमेह र दमको समस्या भएको प्रबन्धक दाहालले जानकारी दिए।

त्यस्तै आजै सुनसरीका अर्का पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए। सुनसरीको बराहक्षेत्र नगरपालिका- ५ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो।

आजै विहान २ बजे अस्पताल भर्ना भएका ती पुरुषको बिहान ६:३० बजे मृत्यु भएको सामाजिक इकाइ शाखा प्रमुख दिपेश न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार दुवै मिर्गौला खराबी भएका ती पुरुष उपचारका लागि अस्पताल आएका थिए। गत २४ गते नोबेल अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

संक्रमित भइसकेपछि ती पुरुष होम आइसोलेसनमा बस्दै आएका थिए।

त्यसो त पछिल्ला केही दिनयता अस्पतालमा संक्रमितको मृत्यु हुनेको संख्या बढिरहेको उनको भनाई छ। ‘तीन दिनभित्र मात्र नोबेल अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ,’ न्यौपानेले भने।

कोरोना संक्रमणबाट हालसम्म नोबेल अस्पतालमा १२ जनाले ज्यान गुमाइसकेको पनि उनले जानकारी दिए।

अस्पतालको आकस्मिक कक्षमा दुई जना र कोभिड आइसोलेसनमा १० जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell