PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

केन्द्रमा प्रचण्ड-नेपालको बहुमतले रक्षात्मक बनेका ओली कर्णालीमा 'छोरी कुटेर बुहारी तर्साउने' रणनीतिमा



प्रकाश भण्डारी

केन्द्रमा प्रचण्ड-नेपालको बहुमतले रक्षात्मक बनेका ओली कर्णालीमा 'छोरी कुटेर बुहारी तर्साउने' रणनीतिमा
फाइल फोटो

काठमाडौँ राजधानी विवादले चर्चामा आएको प्रदेश ५ (लुम्बिनी) पछि कर्णाली प्रदेश अहिले चर्चामा छ। भौगोलिक हिसाबले नजिकैका प्रदेश हुन यी दुई। राजनीतिक हिसाबले भने एकै पार्टीका दुई फरक गुटका नेताले प्रदेशको नेतृत्व गर्छन्। पूर्व माओवादीका महेन्द्रबहादुर शाहीले कर्णाली हाकिरहँदा पूर्व एमालेका ओली निकट नेता शंकर पोखरेल लुम्बिनीको नेतृत्वमा छन्।

लुम्बिनी प्रदेशको राजधानीका लागि केन्द्रमा भएजस्तो सल्लाह कर्णाली प्रदेशका लागि भने हुन सकेन।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई राख्ने र हटाउने संसदीय अंकगणितको रणनीतिमा छन्।

मुख्यमन्त्री शाहीलाई हटाएर बहुमतको बल देखाइदिनेमा ओली छन्। पूर्व एमालेलाई एक ढिक्कामा राखेर शाहीलाई हटाएर पार्टीमा आफू बलियो भएको प्रमाण देखिने ओलीको बुझाइ छ। तर, मुख्यमन्त्री शाहीले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएका छन्।

बहुमतले थर्काउने रणनीतिमा ओली

केपी ओलीले राजनीतिक दल सम्बन्धी वैशाख ८ मा अध्यादेश ल्याएपछि ६ महिनासम्मको विवाद उनकै पद वरिपरि थियो। बहुमतको बल देखाउने रणनीतिमा थिए प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल। तर, बहुमतबाट हटाउँदा पार्टी फुटाउने ओलीको धम्कीले लेनदेनबाट सहमति गर्न पुग्यो प्रचण्ड-नेपाल समूह।

केन्द्रको यस्तो रस्साकस्सी भन्दा प्रदेशमा फरक छ। ठिक उल्टो रणनीतिमा छन्, यी दुई नेता। ओली बहुमतबाट हटाउने रणनीतिमा पुग्दा प्रचण्ड ओलीलाई बहुमत प्रयोग गरे ठिक नहुने भन्दै चेतावनी दिइरहेका छन्। सोमबार बिहान प्रचण्डले ओलीलाई भेटेर मुख्यमन्त्री शाहीलाई नहटाउन ओलीलाई आग्रह गरेको ओली निकट एक नेताले बताए। नेकपा संसदीय दलका उपनेता तथा ओली निकट मानिने नेता सुवास नेम्वाङले संघको विवाद मिले जसरी नै कर्णालीको विवाद पनि दुई अध्यक्षको सल्लाहमै मिल्ने दाबी गरे।

सोमबारको छलफल पनि त्यही अनुसारले भएको उनको भनाई छ। 'दुई अध्यक्षको छलफल पनि कर्णालीकै विषयमा भयो। यसमा पनि सहमतिमै हुन्छ,' उनले भने।

प्रचण्ड निकट एक नेताले भने कर्णालीका मुख्य मन्त्रीलाई हटाएर प्रचण्डलाई देखाइदिने रणनीतिमा ओली पुगेको बताए। 'छोरी कुटेर बुहारी तर्साउने रणनीतिमा छन् ओली, यो पहिलेदेखि नै भइरहेको खेल हो। बहुमतले थर्काउने रणनीति पनि हो ओलीको,' ती नेताले भने।

प्रचण्डलाई सन्देश दिन चाहन्छन् ओली

आफ्नो पद नै धरापमा परेको विवाद सल्टाउन सफल भएका ओली फेरि किन प्रदेशमा विवाद निम्त्याउन चाहन्छन्?

नेकपा स्थायी कमिटी सदस्य गणेश साह यसलाई ओलीको कुटिल चालका रूपमा अर्थ्याउँछन्। प्रचण्डलाई आफूसँग मिल्नुको विकल्प छैन भन्ने सन्देश दिन ओलीले प्रचण्ड गुटका नेतालाई प्रदेशको नेतृत्वबाट हटाउन चाहेको साहले बताए। 'प्रचण्डलाई मिल्नुस् त्योभन्दा अर्को विकल्प छैन। बरु बाहिर विरोध गरेजस्तो गरे पनि हुन्छ भन्ने उहाँको रणनीति देखिन्छ यसमा,' उनले भने।

तर प्रचण्ड निकट मानिने नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले यो केन्द्रसँग जोडिएको विषय नै नभएको दाबी गरिन्। उनले प्रदेशकै इस्यू केन्द्रसँग जोडिएपछि ओलीले प्रचण्डलाई अविश्वासको प्रस्ताव फिर्ता गर्ने वचन दिएको जानकारी दिइन्। 'यो केन्द्रको विषय नै होइन। अध्यक्षले फिर्ता गराउँछु भन्नुभएको छ,' उनले भनिन्।

प्रचण्डका लागि छ कठिन

प्रचण्ड निकट नेताका अनुसार उनले आफ्नो समूहलाई एक ढिक्का बनाउन नसक्दा रणनीतिक रूपमा ओलीसँग कमजोर देखिन्छन्। लेनदेनको हिसाबका कारण उनी कमजोर भएको उनी निकट नेताले बताए।

'के कुरामा प्रचण्ड फस्नुभएको छ, त्यसैले उहाँसँग आफ्नो टिम छैन। त्यस कारण उहाँ लुजर हुन सक्नुहुन्छ,' ती नेताले भने।

चुनाव जितिने मनस्थितका कारण पनि प्रचण्ड निकट नेताहरू पनि अहिले गुट परिवर्तन गरेर ओली निकट बनेको उनले बताए। ' सरकार जसको छ त्योसँग निकट भएमा चुनाव जितिन्छ भनेपछि स्थायी कमिटीकै विवादको बेला पनि पूर्व माओवादीका नेताहरू ओली निकट बनेका थिए,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell