वीरगंजः पर्सा प्रहरीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विन्दावसिनी ३ का नारद साह तेली रहेका छन्।
उनले नाम परिवर्तन गरी डाक्टर शिवशंकर यादव (एसएस यादव) को नामबाट बिरामीको उपचार गर्दै आएको प्रहरीको दाबी छ। प्रहरीले साहलाई वीरगंज २ छपकैयामा उनले सञ्चालन गरिरहेको यादव अल्ट्रासाउन्ड सेन्टरबाट शुक्रबार पक्राउ गरेको थियो।
उनले डाक्टर भनेर आफैँ ओपिडी सञ्चालन, बिरामी चेकजाँच र भिडियो एक्सरे गर्दै आएको स्थानीयको गुनासोका अधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मुलुकी अपराध संहिताको इलाजको कसुर अन्तर्गत साहलाई अनुसन्धानका लागि प्रहरीले ७ दिनको म्याद समेत थप गरेको प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले बताए।
उनले सिएमएसम्म पढेको तर विगत लामो समयदेखि डाक्टरका रुपमा परिचित गराउँदै पेशामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
