PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेकपा संसदीय दल कर्णालीको विवाद उत्कर्षमा, आजै बस्ला त बैठक?



पी बी खड्का

नेकपा संसदीय दल कर्णालीको विवाद उत्कर्षमा, आजै बस्ला त बैठक?

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलभित्र विवाद चर्किँदै गएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव आएकै कारण केन्द्रसम्म समाधानको निकास खोज्ने प्रयास भइरहेको छ ।

नेकपाभित्र बहुमत आएसँगै मुख्यमन्त्री पद छोड्न नचाहेका नेता यामलाल कँडेल र मुख्यमन्त्री शाहीबीच शक्ति संर्घष निर्णायक मोडमा पुगेको छ। अविश्वासको प्रस्ताव आएसँगै दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीले संसदीय दलको बैठक पर धकेल्न 'एक्सन' लिएका छन्।

आज (मंगलवार) दिउँसो एक बजे दलको बैठक डाक्ने प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन् उनले। तत्काल बैठकमा जान नचाहेको मुख्यमन्त्री पक्षले प्रमुख सचेतकमा नेपालीलाई नियुक्त गरेसँगै आगामी कार्तिक ७ गते दलको बैठक आव्हन गरेको छ।

कँडेल पक्षले भने दलको बैठक आजै बस्ने तय गरेको छ। विश्वास गुमाइसकेका दलका नेताले हटाउँदैमा आफूलाई मान्य नहुने शाहले भने।

‘अविश्वासको प्रस्ताव आइसकेपछि दलभित्र नेताको हैसियत गुमाइसक्नु भयो,’ हटाइएका प्रमुख सचेतक शाहले भने, ‘अहिले उहाँ (मुख्यमन्त्री शाही) निलम्बित जस्तै हो। केही गर्नै पाउनुहुन्न। कसरी मलाई हटानुहुन्छ?’

अविश्वासको प्रस्ताव शाह समक्ष पेश भएको केही समयमै उनले दलको बैठक बस्ने मिति तय गरेका गरेका थिए।

दलका नेता तथा मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई पदमुक्त गरेपछि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। सँगै कर्णालीको राजनीति घटनाक्रमले अर्को मोड लिएको छ।

संसदीय दलको विधानको धारा ७ बमोजिम प्रमुख सचेतकमा नियुक्त गर्ने व्यवस्था गरिए पनि पदमुक्त गर्दा कुनै स्पस्ट व्यवस्था भने छैन। दलको नेताले प्रमुख सचेतक चयन गर्न पाउने ‘एकल अधिकार’ प्रयोग गरेको मुख्यमन्त्री मन्त्री पक्षको दावी छ।

‘अविश्वासको प्रस्ताव आइसकेपछि दलको नेता र अन्य सदस्यसँग समन्वय र सल्लाह गरेर बैठक बोलाइनुपर्थ्यो,’ नव नियुक्त प्रमुख सचेतक नेपालीले भनिन्,‘दलको नेतालाई थाहै नदिएर, छलफलै नगरी बैठक बोलाउनु भयो।’

अब कसरी अगाडि बढ्ने भन्ने विषयमा मुख्यमन्त्री पक्ष भने केन्द्रको निर्णय र निर्देशनको पर्खाइमा छ। झगडाको यो विषय प्रदेशको मात्रै नभएर केन्द्रीय तहसम्मको भएकाले केन्द्रको निर्णय र निर्देशन मान्नुपर्ने प्रमुख सचेतक नेपालीले बताइन्।

‘कुनै पनि विषय आउँदा बित्तिकै तत्काल निर्णयमा पुग्नुपर्छ भन्ने होइन। दल छ, पार्टी छ। छलफल र बहस हुनुपर्छ,’ उनले भनिन्, ‘यो विषय भनेको केन्द्रको पनि हो। त्यसैले केन्द्रको निर्णय, निर्देशन के हुन्छ त्यसैमा भर पर्छ।’

यसअघि दलको बैठक आव्हान गर्ने प्रमुख सचेतक शाहले आज (मंगलवार) बोलाइएको बैठक बस्न नमिल्ने उनको तर्क छ।

‘प्रमुख सचेतक चयन गर्ने र हटाउने भन्ने दलको नेतामा भर पर्छ,’ सचेतक नेपालीले भनिन्, ‘दलको नेताले नै हटाइसकेको व्यक्तिको अध्यक्षतामा बैठक बस्न सक्दैन।’

मुख्यमन्त्रीले हटाएका प्रमुख सचेतक शाहले दलको बैठक आजै बस्ने दावी गरे।

‘दलको बैठक नबस्ने भन्ने हुँदैन। अविश्वासको प्रस्ताव आइसकेपछि छलफलका लागि बैठक बोलाउने काम मेरो भएकाले सबै माननीज्यूहरुलाई खबर भएको छ। मेरै अध्यक्षतामा दलको बैठक बस्छ,’ उनले भने, ‘बाँकी के हुन्छ भन्ने कुरा छलफल भइसकेपछि टुंगो लाग्ला।’

यस विषयमा नेता कँडेल पक्षकाले केन्द्रीय नेतृत्वले हस्तक्षेप गरे संघीयताको मर्म विपरीत हुने बताइरहेका छन् ।

'यस विषयमा केन्द्रको भर पर्नुपर्छ जस्तो लाग्दैन। बहुमतका आधारमा हुने कुरा हो,’ नेता कँडेल पक्षका एक सांसदले भने, ‘यस्तो विषयमा केन्द्रीय तहको नेतृत्वले हस्तक्षेप गर्नु भनेको संघीयता मर्म विपरीत हुन्छ।’

दलको बैठक आजै बसेर मुख्यमन्त्री पदमुक्त हुनसक्ने उनको दावी छ।

‘दलको बैठक बस्ने भन्नेमा कुनै दुईमत नै छैन,’ ती सांसदले भने, ‘सम्भवत आजै दलको नेताबाट मुख्यमन्त्री हट्नुहुन्छ।’

यता, मुख्यमन्त्री शाही पक्षले आगामी कार्तिक ७ गते बिहान ११ बजेका लागि बैठक आव्हन गरिसकेको छ।

‘अविश्वासको प्रस्ताव आइसकेपछि १५ दिनभित्र बैठक राखेर छलफल गर्नुपर्ने हुन्छ,’ नव नियुक्त प्रमुख सचेतक नेपालीले भनिन्,‘सोही अनुसार मैले कार्तिक ७ गतेका लागि बैठक आव्हन गरेको छु। सबै माननीयज्यूहरुलाई पत्राचार भइसकेको छ।’

मुख्यमन्त्री शाही विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएकै मितिमा (आइवार)प्रमुख सचेतकबाट शाहलाई हटाएको पत्र पठाइएको छ । तर, पत्र भने सोमवार मात्रै सार्वजनिक गरिएको थियो। यसले गर्दा प्रमुख सचेतक शाहले बोलाएको बैठक अवैध बनाउन खोजिएको हुनसक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell