PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बिहानै दुई जना संक्रमितको गयो ज्यान, एकजना थिए भेन्टिलेटरमा



फूलमाया पुरी

बिहानै दुई जना संक्रमितको गयो ज्यान, एकजना थिए भेन्टिलेटरमा

विराटनगर : मंगलवार बिहान यहाँका दुई फरक अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको कोभिड आइसोलेसनमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको हो।

मोरङको सुन्दर हरैंचा नगरपालिका विराट चोकका ४३ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालको कोभिड आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए।

देवका अनुसार भेन्टिलेटरमा उपाचाररत ती संक्रमित पुरुषको आज बिहान ८:१० बजे मृत्यु भएको हो।

गत असोज २४ गते ती पुरुषलाई श्वासप्रश्वाको समस्या भइ अचेत अवस्थामा उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। सोही दिन स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो। अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो।

त्यसो त कोभिड आइसोलेसनको बेड खाली नभएकै कारण ६० घण्टा जनरल वार्डकै भेन्टिलेटरमा उनलाई राखिएको थियो। सोमवार साँझमात्र ती पुरुषलाई कोभिड अस्पतालमा सारिएको देवले बताए।

‘२४ गते बिहान अस्पतालको इमर्जेन्सीमा भर्ना हुनुभएको थियो। बिहान स्वाब संकलन गरियो र राती रिपोर्ट पोजेटिभ आयो,’उनले भने, '६० घण्टा यहीँ ननकोभिड अस्पतालको भेन्टिलेटरमा राख्यौं र हिजोमात्र कोभिड अस्पताल सारेका थियौं। आज मृत्यु भयो।’शव व्यवस्थापनको तयारी भइरहेको उनले बताए। आज मृत्यु भएकासँगै विराट अस्पतालमा हालसम्म ७ जनाले कोरोना संक्रमितले ज्यान गुमाइसकेको पनि उनले बताए।

त्यस्तै, विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचारकेन्द्रमा उपचाररत एक पुरुषको पनि मृत्यु भएको छ।

मोरङको बुढीगंगा गाउँपालिका - ५ का ७१ वर्षीय पुरुषको आज बिहान २:१५ बजे मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकृत आनन्द लामिछानेले जानकारी दिए।

लामिछानेका अनुसार गत आइतवार बिहानको राती १:३० बजे उपचार केन्द्रमा भर्ना भएका थिए। शनिवार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट रेफर भएका थिए। ती व्यक्तिमा दमको समस्या थियो।

शव व्यवस्थापन नियम अनुसार हुने लामिछानेले बताए।

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell