काठमाडौ : नेपाल कम्युनिस्ट पार्टीका नेताहरु कर्णाली प्रदेशमा उत्पन्न समस्याबारे आन्तरिक छलफलमा छन्।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार पनि भेटवार्ता भएको छ।
अहिले प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
आइतवार नेकपाकै १८ सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेसँगै समस्याको निकास खोज्न दुई अध्यक्षबीच प्रयास भइरहेको छ। सोमबारको भेटमा प्रचण्डले शाही विरुद्धको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका थिए।
प्रचण्डले सोमबार नै वरिष्ठ नेता माधवकुमार नेपालसहित पूर्वमाओवादीका नेताहरुसँग पनि भेट गरेका थिए।
अहिलेको समस्या बालुवाटारबाटै उत्पन्न भएकाले ओलीले नै समाधान गर्नुपर्ने खुमलटारको निष्कर्ष छ।
मुख्यमन्त्री शाहीले पदबाट हटाएर प्रमुख सचेतक गुलावजंग शाहले आज एक बजे संसदीय दलको बैठक बोलाएका छन्। मुख्यमन्त्री शाहीले सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन्। नेपालीले आगामी कार्तिक ७ गते दलको बैठक आव्हन गरेकी छन्।
उत्कर्षमा पुगेको समस्या समाधानका लागि छलफल नै आवश्यक रहेको नेताहरु बताउँछन्।
'विवाद बेलाबेलमा भइरहेको थियो, अहिले विस्फोटको भएको छ। छलफलबाटै यसको समाधान खोजिनुपर्छ,' स्थायी कमिटी सदस्य हरिवोल गजुरेल बताउँछन्। अहिले कर्णाली प्रदेशमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर र मुख्यमन्त्री शाही पक्षधरका नेताहरु पनि आन्तरिक छलफलमा छन्।
ओली-प्रचण्डबीच प्रस्ताव फिर्ता गराउने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।
