PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अपरेशन रक्स : जग्गा देखाउन पुगेका चन्द्रबहादुरको हत्या, हेलमेटले अभियुक्तसम्म डोहोर्‍याएको प्रहरी अनुसन्धान



सविन ढकाल

अपरेशन रक्स : जग्गा देखाउन पुगेका चन्द्रबहादुरको हत्या, हेलमेटले अभियुक्तसम्म डोहोर्‍याएको प्रहरी अनुसन्धान

काठमाडौं : 'राम्रो कमिसन आउँछ जग्गा हेर्न जाऊँ।'

असोज २१ गते भक्तपुरको चाँगुनारायण ८ सुडालमा केही मानिस पुगे। ६१ वर्षीय चन्द्र बहादुर योञ्जन लामा केही समयदेखि जग्गाको दलालीको रूपमा काम गर्दै आएका थिए। उनका लागि नौलो प्रस्ताव थिएन। धेरै मानिसलाई साधारण चिनजानको आधारमा नै उनले जग्गा किनबेच गराइसकेका थिए।

सुडालमा उनको पसल छ। त्यसो त चन्द्रबहादुर साधारण झारफुकको काम समेत गर्छन्। त्यसैले पनि उनलाई भेट्न अनेक खालका मानिस पुग्ने गर्थे। तर,  झारफुक होइन जग्गाको शिलशिलामा प्रेम तामाङ र रमेश तामाङ उनी कहाँ पुगेका थिए।

साढे ४ बजेतिर पुगेका उनीहरूले केही समय चन्द्रबहादुरको पसलमा बिताए। दुई बोतल बियर समेत खाए। त्यसपछि चन्द्रबहादुरलाई लिएर जग्गा हेर्न पुगे। रमेश र प्रेमले आफन्तको लागि जग्गा चाहिएको भन्दै त्यहाँ पुगेका थिए।

उक्त जग्गा उनको पसलभन्दा झन्डै १ किलोमिटर पर विडोलफाँटमा थियो। उनीहरूले कमिसनको राम्रै रकम पाउने गफ गर्दै त्यहाँ पुगे।

केही समय बित्यो। तर, चन्द्रबहादुर एकाएक रगताम्मे भएर फर्किए। उनको शरीरमा चोट थियो। उनको यस्तो अवस्था देखेपछि आफन्त छिमेकी जम्मा भए। उनलाई तत्काल भक्तपुरको मध्यपुर थिमी अस्पताल लगियो। शरीरबाट यति धेरै रगत बगिसकेको थियो कि अस्पतालले उपचार गर्न नसक्ने बतायो। त्यसपछि उनलाई पुर्‍याइयो ग्रिन सिटी अस्पताल।

चन्द्रबहादुरले अन्तिम सास त्यही अस्पतालको शय्यामा फेरे। असोज २२ गते बिहान ५ बजेतिर उनको मृत्यु भयो।

+++

असोज २६ गते मृतकका परिवार हत्या भएको भन्दै प्रहरीमा उजुरी दिन पुगे। महानगरीय अपराध महाशाखाले अनुसन्धान सुरु गर्‍यो। प्रहरीको पहिलो अनुसन्धानको  घेरामा परे ती नै दुई जना युवक। जो जग्गा हेर्न भन्दै चन्द्रबहादुरसँग गएका थिए। तर उनीहरू को थिए? कहाँबाट आएका थिए? के उनीहरूले नै हत्या गरे? यही प्रश्नको उत्तर खोज्दै अनुसन्धानले मोड लियो।

यहीँबाट प्रहरीले अनुसन्धान सुरु गर्‍यो। प्रहरीले एउटा क्लू भेट्यो। पसलमा बियर खाँदा उनीहरूले टेबलमा हेलमेट राखेका थिए। हेलमेटमा रक्स वा फक्स लेखिएको थियो। प्रहरी आर ओ एक्स वा एफ ओ एक्स भन्ने दुबिधामा पर्‍यो। तर हेलमेटको रङ्ग र मोडलको आधारमा अपरेशन बढायो। त्यति मात्र होइन अन्य प्राविधिक पक्ष समेतको सहयोगमा अनुसन्धान थाल्यो।

महाशाखाको टोलीले सोमबार तीन जनालाई समात्न सफल भयो। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ लेखर्क घर भएका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय रमेश तामाङ र रामेछाप धोबी गाउँपालिकाका २७ वर्षीय प्रेम तामाङ नियन्त्रणमा लियो।                                       समातिएका तीन अभियुक्तहरु

मङ्गलवार प्रहरीले समातेका तीन जना अभियुक्तलाई सार्वजनिक गर्‍यो। उनीहरूले हत्या गरेको स्वीकार समेत गरिसकेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए।

'एकान्त ठाउँमा लगेर उनको शरीरको टाउको, पेट लगायत स्थानमा हानेको बताइसकेका छन्। पोस्टमार्टम रिपोर्टमा पनि आन्द्रामा घाउ र रगत धेरै बगेको कारण हत्या भएको देखिएको छ', एसएसपी थापाले भने।

प्रहरीले बौद्धबाट रमेश र प्रेमलाई नियन्त्रणमा लिँदा प्रहरीले क्लू बनाएको हेलमेट समेत बरामद गरेको छ। प्रहरीले घटना भएको दिन थिमी लगायत क्षेत्रमा सोही कलरको हेलमेट लगाएर हिँडेका मानिसलाई समेत क्लोज वाचमा राखेर अपरेशन गरेको थियो।

'हाम्रो लागि एउटा क्लु हेलमेट थियो। घटनालाई म्याच गर्न हेलमेटले थप सहयोग गरेको छ', एसएसपी थापाले भने।

घटनाको मुख्य योजनाकार भने शेर्पा भन्ने कामी लामा भएको खुलेको छ। शेर्पाले चन्द्रबहादुरसँग जग्गाको केही रकम लिन बाँकी रहेको र रकम दिन आनाकानी गरेपछि प्रेम र रमेशलाई लगाएर कुटपिट गरेर थर्काएर असुली गर्न खोजेको देखिएको छ। उनीहरूले घटना हुनुभन्दा दुई दिनअघि असोज १८ गते नयाँ बस्तीमा बसेर योजना बनाएका थिए।              पत्रकार सम्मेलनमा एसपी ईश्वर कार्की र एसएसपी दीपक थापा

त्यही अनुसार शेर्पाले चन्द्रबहादुरको बस्ने स्थान समेत देखाएका थिए। सोही अनुसार प्रेम र रमेशे चन्द्रबहादुरको पसलमा पुगेका थिए। उनीहरूले चन्द्रबहादुरले लगाएको दुई तोला २ लालको ब्रासलेट र मोबाइल समेत लुटेका थिए।

'उनीहरूले मार्ने भन्दा पनि तर्साउन गरेको बताएका छन्। तर त्यही क्रममा बढी चोट लागेको कारण मृत्यु भएको देखियो', एसएसपी थापाले भने।

उनीहरूले लुटको सुनमध्ये १ तोला बिक्री गरिसका थिए। जसमध्ये ५० हजार रुपैयाँ प्रेम र रमेशले बाँडेका थिए। उनीहरूको प्राइम हिष्ट्री हेर्दा ज्यान बनाउने र मानिस तर्साएर रकम उठाउने गरेको देखिएको एसएसपी थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell