PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जनावरहरूको मनोविज्ञान र यौनको विषयमाथि ददि सापकोटाको ‘वनको वैभव'



पहिलोपोस्ट

जनावरहरूको मनोविज्ञान र यौनको विषयमाथि ददि सापकोटाको ‘वनको वैभव'

काठमाडौं : पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति सार्वजनिक भएको छ। मङ्गलवारदेखि उनी लिखित ‘वनको वैभव’बजारमा उपलब्ध भएको हो।

यस पुस्तक चराचुरुङ्गी एवम् वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न र उनीहरूको यौनका बारेमा विषयबारे जान्न चाहनेहरूका उपयोगी हुने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेले बताए।

‘पुस्तक रमाइलो ढङ्गमा लेखिएको छ। सबै पाठ रोचक छन्,’ उनले भने, ‘यसरी गम्भीर अध्ययन अनुसन्धान गरेर नेपालीमा कमै पुस्तक लेखिएका छन्।’ पुस्तकमा रहेका सन्दर्भसामग्रीले लेखनको गाम्भीर्यलाई बुझाउने उनको भनाइ छ।

तराईको चितवन, बर्दिया, पर्सा, कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पहाडी भेगका संरक्षित क्षेत्र, आरक्षण केन्द्रदेखि सामुदायिक वनसम्म चहारेर लेखकले चराचुरुङ्गीहरूको स्वभाव एवम् आनिबानीबारे चर्चा गरेका छन्।

‘भारतका केओदायो राष्ट्रिय निकुञ्ज, चितवनको भरतपुर चरा आरक्षण केन्द्रदेखि फ्रान्सका विभिन्न वन, पहाड, प्राकृतिक संरक्षण केन्द्र, नदीनाला चहार्दा देखेभोगेका तथ्यहरूको समग्र अनुभवलाई समेटेको छु,’ लेखक सापकोटाले भने, ‘यो पुस्तक लेख्नुअघि मैले धेरै क्षेत्र घुमेर बनाएका नोटहरूको सहयोग लिएको छु। जीवजन्तुबारे प्रकाशित धेरै पुस्तक अध्ययन र टिभीका कार्यक्रम हेरेको छु।'

यसअघि लेखकका ‘पन्छी जगत’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’सार्वजनिक छन्।

जनावरहरूका रमाइला र गुह्य विषय सर्वसाधारणसमक्ष पुग्नुपर्ने र उनीहरूलाई ती विषयबारे जानकारी मिल्नुपर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए। ‘वन्यजन्तु एवम् चराचुरुङ्गीका गुह्य कुरा रोचक ढङ्गमा लेखिएको पुस्तक पाउन गाह्रो छ,’ उनले भने, ‘ददि सापकोटाले त्यो अभाव पूर्ति गरिदिएका छन्।’  

पर्यटकीय क्षेत्रबाट पेशा सुरू गरेका सापकोटा विशेषगरी वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्छन्। हाल उनी नेपाललाई कर्मथलो बनाएका युरोपेली, युरोपको नेपाली समुदाय र प्रकृतिका विविध पक्षको खोजीमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell